धरान : दसैँ तिहार नजिकिएको बेलामा उपभोक्ताहरूको किनमेल बढेसँगै धरान बजारमा उपभोग्य म्याद गुज्रिएका खाद्य वस्तु, तौल, मूल्य, उत्पादन मिति नभएका दैनिक उपभोग्य वस्तुहरू विक्री वितरण हुन थालेको पाइएको छ ।
चाडबाड सुरु भएकोले उपभोक्ताको हित, पसले व्यापारीलाई सजग गराउन धरान उपमहानगरपालिकाले आज बुधवार गरेको बजार अनुगमनमा त्यस्तो पाइएको बताइएको छ । उपप्रमुख आइन्द्रविक्रम बेघाको नेतृत्वको टोलीले हिजो मङ्गलवार देखी बजार अनुगमनलाई तीव्रता दिएको हो ।
उपमहानगरपालिका प्रशासन प्रमुख वेदप्रसाद सापकोटाका अनुसार अनुगमनको क्रममा पाइएका जनस्वास्थ्यका लागि हानिकारक, म्याद गुज्रिएका वस्तुहरू जफत गरिएका छन् ।
अधिकांश पसल, व्यापार व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरिएको पाइएकोले उनीहरूलाई तत्काल सम्बन्धित निकायमा दर्ता गर्न नोटिस दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको संयुक्त अनुगमन टोलीले धरानका खाद्यान्न र मासु पसलहरूको अनुगमन गरेको हो । मङगलबार छाताचोकबाट सुरु भएको अनुगमनमा म्याद गुज्रिएको बिस्कुट, पेय पदार्थ पाइएको थियो ।
पसलेले आफैले प्याकेजिङ गरेको काजुको प्याकेटमा तौल कम भएको पनि भेटियो । अनुगमन टोलीले म्याद गुज्रिएको सामान बिक्री नगरी बेग्लै राख्न, प्याकेजिङमा अनिवार्य लेबल लगाउन र तौल कम नगर्न लिखित रूपमा निर्देशन दिँदै अन्यथा कारबाही गरिने चेतावनी दिएको छ ।
धरान-११, धरान-१६, धरान-६ र धरान-१५ मा आज बुधवार खाद्यान्न पसल, मासु पसल र होटेलमा अनुगमन गरिएको छ । अनुगमनमा धरान-११ मङ्गलबारे मास्के किराना पसलबाट लेबल नभएको २४ पिस खाद्य पदार्थ जफत गरेको छ ।
पसल धनीलाई लेबल नभएको खाद्य पदार्थ बिक्री वितरण नगर्न, मिति सकिएको सामानहरू एकस्पाएर जोनमा राख्न, नुडल्सहरु फ्रिज भित्र राख्न निर्देशन दिइएको छ । धरान-६ पानमारामा पानमारा सप्लायर्समा म्याद नाघेको पेय पदार्थ कोक, ड्यु लगायत चकलेट भेटिएको छ । टोलीले धरान-१५ बगरकोटका सेकुवा पसलहरूको पनि अनुगमन गरेको छ ।
बगरकोटको १ किराना पसल दर्ता नवीकरण नगरेको पाइएकोले ३ दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ । सेकुवा कर्नरमा फुड कलर गलत तरिकाले प्रयोग गरेको पाइएको छ । उनीहरूलाई अखाद्य रङ्ग प्रयोग नगर्न निर्देशन दिदैं अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ ।
किराना पसलहरूमा म्याद नाघेको, लेबल नभएको, दर्ता नवीकरण नगरेको र प्याकिङ गरेको सामानको तौल कम भएको पाइएको छ । ती पसलहरूबाट सामान जफत गरी व्यवसायीहरूलाई अल्टिमेटम दिइएको छ ।
व्यवसायीहरूलाई टोली प्रमुख उपप्रमुख बेघाले भने ‘हामीले व्यवसायीहरूलाई आतङ्कित गर्न अनुगमन गरेका होइनौँ तर आम उपभोक्ताको स्वास्थ्यको ख्याल राख्न सचेतना गराउनु स्थानीय सरकारको दायित्व हो ।’
अनुगमनको क्रममा टोलीलाई व्यवसायीहरूले बजार अनुगमनलाई सकारात्मक लिँदै नियमित हुनुपर्ने धारणाप्रति सहमति जनाएका थिए । उनीहरूले धेरै पसलेहरूले बढी मूल्य लिने, म्याद सकिएको खानेकुरा बेच्ने गरेको आरोप लगाएका छन् ।
टोलीका सदस्य सुनसरी उद्योग वाणिज्य सङ्घका किसन मास्केले बजार अनुगमन नियमित गर्ने क्रममा व्यावसायीहरुको सहयोग रहने बताए । गंगोत्री नेपाल प्रालिका सञ्चालक अविनाश अधिकारीले भने ‘अनुगमनले व्यावसायीहरुलाई सुधार गर्न मौका मिल्ने र उपभोक्ताहरूमा पनि सकारात्मक सन्देश जाने छ ।’