धरान : जेनजी आन्दोलनले मुलुकको पर्यटन क्षेत्रमा ठुलो धक्का पुर्‍याएपनि यसबिच नेपालको नयाँ पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय चर्चालाई भने मिडियाले रोकेको पाइएन ।

भदौ २३ र २४ मा भएका घट्नामा व्यहोर्नु परेको धनजन क्षति यकिन हुन बाँकी नै छ । अन्तरिम सरकारको गठनबाट देखिएको स्थिरता पर्यटन गतिविधिको पुनर्स्थापनालागि सकारात्मक छ । आन्दोलन रोकिए लगत्तै असोज ४ गते विश्व प्रसिद्ध मिडियाले गरेको पूर्वको नयाँ गन्तव्यको चर्चाले त्यस्तो सङ्केत दिएको हो ।

बेलायत र अस्ट्रेलियाका विश्व प्रसिद्ध पत्रिकाको अनलाइन संस्करणले तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वसन्तपुर स्थित ‘चोःलुङ पार्क’ पर्यटकहरूकालागि गन्तव्य स्थल भएको समाचार प्रकाशित गरेको छ ।

यस अघि चोःलुङ पार्कलाई विश्व प्रसिद्ध ‘टाइम’ म्यागेजिनले चालु अङ्ग्रेजी सम्बत सन् २०२५ का लागि नेपालका उत्कृष्ट १०० गन्तव्य मध्ये एकको सूचीमा प्रकाशित गरेको थियो ।

त्यसपछि हालै मात्र बेलायती विश्व प्रसिद्ध पत्रिका ‘द गार्जियन’ र अस्ट्रेलियाको ‘द क्यानबेरा टाइम्स’ अनलाइन संस्करणमा सेप्टेम्बर २० अर्थात् असोज ४ गते चोःलुङ पार्कको चर्चा प्रकाशित भएको हो ।

कोसी प्रदेश सरकारले वि.सं. २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ । वर्षको मध्यावधिमा आउँदा प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिकाको अनलाइन संस्करणमा विश्व पर्यटन गन्तव्यको रूपमा ‘चोःलुङ पार्क’को चर्चा पर्यटन वर्षसँग जोडिन पुगेको छ ।

कोसी प्रदेश सरकारले वि.सं. २०८२ लाई पर्यटन वर्ष सुरु भएको उद्घाटन तथा घोषणा कार्यक्रम लालीगुराँस नगरपालिका स्थित ‘टिएमजे क्षेत्र आरआर गार्डेन’ मै गरेको थियो ।

प्रदेश पर्यटन वर्ष घोषणा भए तापनि सरकारी बाहेक निजी क्षेत्रबाट पर्याप्त गतिविधि नदेखिएको अवस्थामा अन्तर्राष्ट्रिय मिडियाको चर्चाले विदेशी पर्यटकहरूलाई कोसी प्रदेशको नयाँ गन्तव्यमा आकर्षित गर्न ठुलो सघाउ पुर्‍याउन सक्छ ।

सगरमाथा आरोहण, ट्रेकिङको ग्रामीण पर्यटन बाहेक नयाँ गन्तव्य स्थलको प्रचार नभइरहेको बेला चोःलुङ पार्कको अन्तर्राष्ट्रिय प्रचार सु:खद भएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले बताए ।

मेयर माबुहाङले आफ्नो फेसबुकमा प्रकाशित समाचारको स्कृनसट राखेर गौरवको अनुभूति प्रकट गरेका छन् । फ्रिलान्स जर्नालिस्ट राचेल लिज र इमोजन लेपेरेले चोःलुङ पार्कको चर्चा गरेको उल्लेख गरेका छन् ।

‘द गार्जियन’मा इमोजन लेपेरे र ‘द क्यानबेरा टाइम्स’मा राचेल लिजले चोःलुङ पार्कको सङ्ग्रहालयमा सजाइएका कलाकृतिहरू सहित त्यहाँको मुन्धुम गर्ने साम्बाले घाँटीमा पातको टुक्रा टँसाइ दिएर आशिष् दिएको मुन्धुमी क्रियामा एकाग्र भई चासो दिएको माबुहाङले उल्लेख गरेका छन् ।

मेयर माबुहाङको भनाई उल्लेख गर्दै चर्चामा लेखिएको छ ‘चोःलुङ पार्क लिम्बू जातिमा समर्पित अमूर्त सांस्कृतिक सम्पदा हो जुन खुल्ला र प्राकृतिक वातावरणमा अनुभूति गर्न सकिन्छ ।’ लिम्बू जातिले यहाँका ढुङ्गाहरूबाट आफ्ना पुर्खाका आत्माहरूलाई आत्म धारण गर्ने उनको विश्वास छ ।

चोःलुङ पार्क लामो समयदेखि संरक्षण गरिएको लिम्बू समुदायको जिउँदो इतिहास र परम्परागत संस्कृतिको प्रतिरूप स्थापित गरिएको छ । संस्कृति संरक्षणलाई पर्यटनसँग जोड्दै स्थानीय सरकार नगरपालिको पार्कमा लगानी गरेको हो ।

उक्त लगानी अहिले विदेशी पर्यटकहरूको आकर्षणको गन्तव्य बन्दै गएको छ । यहाँ बनाइएका परम्परागत लिम्बु संस्कृतिका घरहरू (हिमहरू)ले परम्परागत ग्रामीण होमस्टेलाई पर्यटनको आधार बनाउने उदाहरण बनेका छन् ।

परम्परागत शैली र खरले छाएका यी घर झट्ट हेर्दा कुनै पुरानो गाउँमा खुलेको होमस्टेको झल्को दिन्छ । तर, उक्त घरहरू होमस्टे सञ्चालन गर्ने नभई लिम्बू समुदायको परम्परागत हिमको इतिहास संरक्षणका लागि बनाइएका हुन । सोही घरहरूमा सङ्ग्रहालय, प्रदर्शनी कक्षहरू सञ्चालित छन् ।

मेयर माबुहाङका अनुसार लिम्बू समुदायको आस्था, पुर्खाले मुन्धुममा आधारित रहेर जोगाएको परम्परालाई पार्क र सङ्ग्रहालयका रूपमा संरक्षणको कार्य गरिएको हो । 

canbara times