धरान : इरान-इजरायल युद्धमा अमेरिकी प्रवेशको परिणाम स्वरूप विश्वमा इन्धन सङ्कट आउने सम्भावना बढेको छ । इरानमा अमेरिकाले गरेको बम आक्रमणको जवाफमा इरानी सांसदले हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । 
यो मार्ग विश्व तेल ढुवानीको प्रमुख रहँदै आएको छ । प्रस्तावको अन्तिम स्वीकृति सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दिएमा विश्वमा निकासी हुँदै आएको इन्धन सङ्कट आइपर्ने चिन्ता प्रमुख राष्ट्रहरूले व्यक्त गरेको समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले दिएका छन् ।
नेपाल जस्तो इन्धनका लागि अर्को देशमा भर पर्ने मुलुकहरूमा यसको तत्काल असर पर्ने सम्भावना बढेर गएको छ । भारतमा आउने इन्धन पनि यही बाटो भएर आउने गरेको छ
इरानको न्युक्लियर प्रशोधन केन्द्रमा अमेरिकीले शक्तिशाली बम आक्रमण गर्दा नतान्ज, फोर्डो र इस्फहान स्थित केन्द्रहरूमा ठुलो क्षति पुगेको समाचार छ । इरानले यसलाई इजरायल सँगको युद्धमा इरानप्रति सिधा अमेरिकी आक्रमण मानेको छ । 
उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्स बिच स्थित पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि प्रमुख समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठुलो मार्गका रूपमा विश्वका मुलुकहरूले प्रयोग गर्दै आएका छन् । 
अमेरिकी ऊर्जा सूचना प्रशासन अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । दैनिक करिब २० दशमलव ९ लाख ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरियासहित विश्वका विभिन्न ठाउँमा जाने गरेको छ।
साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या पर्न सक्छ । जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए, तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ