धरान : पूर्वी अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपति साउलोस चिलिमा सहित १० जना यात्रा गरिरहेको हवाई जहाज सोमवार बेपत्ता भएको छ ।

मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति लिएर गएको विमानसँग सम्पर्क विच्छेद भएको बताएका छन् । जहाजको लोकेशनको जानकारी समेत पाउन नसकिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचार दिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा मलावी डिफेन्स फोर्सको विमानसँग उडान भरे लगत्तै राडार बाहिर गई सम्पर्क विच्छेद भएको उल्लेख छ ।

विमान सोमवार बिहान मलावीको राजधानी लिलोग्वेबाट उत्तर म्जुजुको लागि उडेको थियो । विमानमा उपराष्ट्रपति सहित १० जना यात्री थिए । जहाज आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भएको अनुमान गरिएको छ ।

दक्षिणी अफ्रिकामा अवस्थित मलावी एक भूपरिवेष्ठित देश हो भने मोजाम्बिक, जाम्बिया र ताञ्जानियासँग यसको सिमाना जोडिएको छ।