धरान : महाकुम्भमा नेपाली काँग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ ।
बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भमा नेपाली काँग्रेसले तिर्थालु भक्तजनहरूको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाकुम्भ अवधिभर एक महिने निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको र नेवार एकता समाजले सोही स्थानमा भक्तजनहरूलाई निःशुल्क पिउने पानी वितरण गरेको भन्दै सम्मान गरिएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताए ।
नेपाली काँग्रेसको प्रतिनिधिसभा क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका थिए । उनीहरूलाई मूल आयोजक समितिका अध्यक्ष एवम् अनन्त श्री विभूषित जगद्गुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए ।
सम्मान ग्रहण गर्दै क्षेत्रीय सभापति तामाङ र अध्यक्ष श्रेष्ठले सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको मूल्याङ्कन भएको भन्दै खुसी व्यक्त गरेका छन् । सो अवसरमा प्रदेश सांसद ममता तामाङ, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, नेपाली काँग्रेसका प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, वराहक्षेत्र-२ का सभापति अमर कटवाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।