• विजय घिमिरे

हिजो काठमाडौँ जानका लागी टिकट लिन भनेर भानुचौक बस स्टेण्ड गएको बसका सबै सिटहरू भरिएका रहेछन् । दुई चार दिन देखि धरान बाट काठमाडौँ जाने बसको सिटहरू दसैँ तिहारको बेलामा जस्तै भरिभराउ छन् ।

चतरामा चलिरहेको बाह्र वर्षे कुम्भ मेलाको कारण अहिले धरानको धार्मिक पर्यटन केही बढेको छ । धरान र आसपासको क्षेत्रमा नयाँ अनुहारहरू देखिन थालेका छन् । विशेष गरेर विजयपुरका पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली लगाएताका मन्दिरहरूमा भक्तजनहरूको घुइँचो केही बढेको छ ।

कुम्भ स्नान गरेपछि चतराको कोसी नदिको पवित्र जल पिण्डेश्वर मन्दिरमा अर्पण गरेपछि मात्र कुम्भ स्नानको यथोचित फल मिल्ने विश्वास रहेको छ । जुन कुरा थाहा भएकाहरू कुम्भ स्नान पछि कोसी नदिको जल लिएर पिण्डेश्वरमा अर्पन गर्न आइरहेका छन् । 

तर यस कुराको व्यापक रूपमा प्रचार प्रसार गर्न सकिएको छैन । जसका कारण कुम्भ मेलामा आएका लाखौँ भक्तजन धरान नआई नै फर्कने गरेका छन् । पर्याप्त प्रचार प्रसार नगर्नाले नजिकै चतरा सम्म आएका धार्मिक पर्यटकलाई धरान भित्र्याउन सकिएको छैन ।

प्रत्येक निर्वाचन अघि हरेक राजनीतिक दलको घोषणा पत्रमा धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कुरा हुन्छ, राजनीतिक दल मात्रै होइन स्वतन्त्र उम्मेदवारहरूले पनि धार्मिक पर्यटनको विकास गर्ने भनेर धराने मतदाताहरू सामुन्ने वाचा गरेका हुन्छन् । 

तर ती वाचा सबै निर्वाचित भएर गइसक्दा नसक्दै एकादेशको कथा जस्तै बन्ने गरेका छन् । किनकि निर्वाचन ताका बन्ने ती सबै घोषणा पत्र राजनीतिक दलका प्राध्यापक, शिक्षक र बुद्धिजीवीहरूले बनाउँछन्, ती सबै वाचा र घोषणा सँग उम्मेदवारहरूको गोरु बेचेको साइनो समेत हुँदैन ।

निर्वाचित भइसके पछि बजेट बनाउने बेलामा घोषणा पत्र तयारी समिति सँग नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षले छलफल गर्नु त परको कुरा घोषणा पत्र तयारी समितिका व्यक्तिहरू जनप्रतिनिधि भेट्न कार्यकक्षमा गयो भने नचिनेको जस्तो गर्छन् ।

अझ दुईचार पटक दोहोर्‍याएर गयो भने त सचिव प्रयोग गरेर अपमानित गरेर फेरी दोहोर्‍याएर नफर्कने बनाउँछन् । उनीहरूले बनाउने सल्लाहकार समितिमा कहिल्यै पनि घोषणा पत्र तयारी समितिका व्यक्तिहरू पर्दैनन् ।

एक वडाको घोषणा पत्र तयार गरेका युवा गुनासो गर्दै थिए, घोषणा पत्र मात्रै होइन, पदभार ग्रहण गर्ने दिन हस्ताक्षर गर्ने कार्यक्रम समेत बनाएर दिएको थिए । पदभार ग्रहणको दिन हस्ताक्षर गरेर कार्यक्रम चाहिँ राखेनछ । तर पछि सचिव सँग सेटिङ मिलेपछि त कमिसन बढी आउने काममा मात्रै बजेट राखेर पदभार ग्रहण गर्दा राखेको कार्यक्रमको बजेट नै काटेछन् ।

पछि सोध्न जाँदा ती युवालाई तपाईँको पाटी जसरी वडा समिति चल्दैन भनेर सचिव मार्फत हप्काउन लगाएछन् । यसरी जनतालाई दिग्भ्रमित पार्न उम्मेदवारलाई चासो नै नभएको घोषणा पत्र हेरेर जनताले अव मतदान गर्ने अवस्थाको अन्त हुनु आवश्यक भएको छ ।

मूलतः यही कारणले गर्दा हो, धरानको धार्मिक पर्यटनको कुरा निर्वाचन ताका घोषणा पत्रमा, दसैँमा दन्तकाली मन्दिरमा फूलपाती ग्रहण गर्दा र बोलबममा पिण्डेश्वर मन्दिरमा दर्शन गर्दा मात्रै धरानका जनप्रतिनिधीहरुले सम्झने गरेको देखिन्छ ।

होइन भने एकीकृत विजयपुर विकास क्षेत्र कोष निर्माण गरी वराहक्षेत्र, विष्णुपादुका, रामधुनि भेडेटारको पाथिभारा देवी लगायतका धरान आसपासका मन्दिरहरूलाई समेटी धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ । प्याकेजमा धरानका होटेल व्यवसायी सँग समन्वय गरेर आकर्षक कार्यक्रम ल्याउन सकिन्छ । जसको लागि अहिलेको कुम्भ मेलाको अवसरलाई  सदुपयोग गर्न सकिन्छ । अहिले पिण्डेश्वरमा कुम्भ अवधि भरी सन्ध्या आरती गर्न सकिन्छ ।

तर अहिले भने पर्याप्त प्रचार समेत गर्न सकिरहेको अवस्था छैन । कुम्भको प्रचारमा धरानमा राखिएको प्रचार सामाग्री नै यथेष्ट र सही तरिकाले राखिएको छैन । सामाजिक सञ्जालमा प्रचार प्रसार समेत कम नै छ । पिण्डेश्वर र दन्तकालि मन्दिरको दर्शनका लागी सुटुक्क आएका प्रसिद्ध धार्मिक गुरु बागेश्वर बाबाको आगमनले पनि भारतका धेरै भक्तजन धार्मिक पर्यटकको रूपमा धरान आउने सम्भावना रहन्छ ।

तर धरानका जनप्रतिनिधिहरूले त्यसतर्फ खासै चासो दिएको देखिँदैन । भइरहेका कामहरू केवल कर्मकाण्डी र औपचारिकता पुरा गर्न गरेको जस्तो मात्रै देखिन्छन् । यी सबै कमीकमजोरीका बाबजुद पनि धरानमा कुम्भ मेलाको कारण धार्मिक पर्यटकको सङ्ख्या केही मात्रामा भए पनि बढेको नै छ ।

जसका कारण विजयपुरमा पिण्डेश्वर लगायतका मन्दिरहरूमा भक्तजनको सङ्ख्या बढेको छ, केही मात्रामा भए पनि धरानको होटेल व्यवसाय फस्टाएको छ भने यातायात व्यवसायीलाई समेत फाइदा पुगेको छ । कुम्भ मेलाको कारण आएको अवसरलाई निरन्तरता दिन हिन्दु धर्म ग्रन्थमा समेत वर्णन रहेको धरानको पवित्र तिर्थस्थलहरुको बारेमा व्यापक रूपमा प्रचारप्रसार गर्नु आवश्यक रहेको छ । 

महाभारतमा वर्णन रहेको पिण्डेश्वर मन्दिर अगाडिको सरस्वती कुण्डको बारेमा त धेरै धराने मात्रै होइन जनप्रतिनिधिलाई नै थाहा छैन । धार्मिक पर्यटनको प्रशस्त सम्भावना भएको धरानमा वृहत् गुरु योजना बनाएर कार्य गर्न ढिला भइसकेको छ ।

यस तर्फ सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण हुन जरुरी छ । हामी कुम्भ मेलाले प्रशस्त अवसर प्रदान गर्दा समेत त्यसलाई सही तरिकाले उपयोग गर्न सकिरहेका छैनौ । आफ्नै नाभिको सुगन्ध थाहा नपाएर भतारिएको कस्तुरी जसरी भौँतारी रहेका छौ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरेर धरानलाई स्वास्थ्य उपचारको केन्द्र र वृहत् विजयपुर क्षेत्र विकास कोष बनाएर धार्मिक पर्यटनको हब बनाउन सक्ने हो भने मात्रै पनि धरान पूर्वका अन्य नगरको तुलनामा विकासको मार्गमा अघि बढ्न सक्ने सम्भावना प्रशस्त रहेको छ ।