धरान : महाकुम्भमा स्नान गरेर चतराबाट पिण्डेश्वर मन्दिरमा आएका तीर्थयात्री ५ हजार बढीले त्यहाँ नेपाली काँग्रेसले सञ्चालन गरेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणको निःशुल्क सेवा लिएका छन् ।

मन्दिर परिसरमा राखिएको डेस्कमा ब्लड प्रेसर र सुगर जाँचका साथै तीर्थयात्रीलाई तत्काल स्वास्थ्यमा देखिने ग्यास्ट्रिक, टाउको दुख्ने, उल्टी आउने, पखाला लाग्ने समस्याका औषधीहरू वितरण गरिदैंछ । साथै सामान्य घाउ, चोटमा ड्रेसिङको व्यवस्था छ ।

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले महाकुम्भ मेला सुरु भएको चैत २७ गते देखी निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार अहिले सम्म डेस्कमा स्वास्थ्य परीक्षण गराउने तीर्थयात्रीको सङ्ख्या ५ हजार १३ पुगेको छ ।

हेल्थ डेस्कमा वीपी प्रतिष्ठान, परिवार नियोजन सङ्घ, विजयपुर अस्पताल, वीपी रोट्रयाक क्लब लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिइरहेको काँग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताइन् । डेस्क महाकुम्भ समापन सम्म सञ्चालन हुनेछ ।

congress-kumbha