धरान : प्यालेस्टाइनमा जारी इजरायली आक्रमणको विरुद्ध प्रतिरोधको प्रतिध्वनि अमेरिकामा प्रकट भएको छ । न्युयोर्क स्थित कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीहरूले प्यालेस्टाइनको समर्थनमा गर्दै आएको विरोध प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले बुधवार ३०० जनलाई गिरफ्तार गरेको छ ।

विश्वविद्यालय भित्र प्रवेश गरी प्रहरीले विद्यार्थीहरूलाई पक्राउ गरेको हो । न्युयोर्कका मेयर एरिक एडम्सले विश्वविद्यालयको आग्रहमा भवन कब्जा गरेर बसेका विद्यार्थी विरुद्ध प्रहरीले ठुलै अभियान चलाउनु परेको बताएको बिबिसीको समाचारमा उल्लेख छ ।

मेयर एरिक एडम्सले न्युयर्क जस्तो ठुलो शहमा अरू पनि धेरै घटनाहरू भइरहने कुरा उल्लेख गर्दै भने ‘युवाहरूलाई रेडिकल बनाउने यस्ता घटना ग्लोबल समस्या बन्दै गएको छ ।’

न्युयोर्कका सुरक्षा अधिकारीहरूका अनुसार विश्वविद्यालय भित्र प्यालेस्टाइनको समर्थनमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा बाहिरी तत्त्वको घुसपैठ भएको थियो । अमेरिकाकाका अन्य सहरहरूमा भएको प्रदर्शनमा पनि यस्तै भएको बताइएको छ ।

मेयर एरिक एडम्सले प्रहरी कारबाहीको बिच मिडियालाई कोलम्बियामा चलाइएको अभियान सँगै प्रहरीले सहरको अन्य भागहरूको सुरक्षामा पनि ध्यान दिइरहेको बताएका छन् ।

उनले भने, ‘प्रदर्शनकारीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु पर्नेमा असहज वातावरण बनाइरहेका छन् ।’ विचार अभिव्यक्ति स्वतन्त्रताको बारेमा मेयर एरिक एडम्सले भने, ‘विद्यार्थीलाई विरोध प्रदर्शनको अधिकार छ, तर विश्वविद्यालय भवनको घेराबन्दी, भौतिक सम्पत्ति नोक्सानी र सुरक्षा क्यामेराहरू निष्क्रिय बनाउने कार्यलाई शान्तिपूर्ण व्यवहार भन्न सकिँदैन ।’

विद्यार्थीहरूले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप आक्रामक भएको आरोप लगाएको छ । बिबिसीलाई विद्यार्थीहरूले बताए अनुसार विद्यार्थी पक्राउ गर्दा प्रहरीले पत्रकारहरूलाई समेत खेदाएर क्याम्पसको एउटा कुना सम्म पुराएको थियो ।