धरान : सीरिया स्थित इरानी राजदूतावासमा इजरायली हमलापछि इरानले इजरायलमा जवावी हमला गर्ने आशङ्का बढेकोले भारत, अमेरिका र युरोपेली मुलुकहरूले आफ्ना नागरिकहरूलाई इरान र इजरायलको यात्रा नगर्न चोतवानी युक्त ट्राभल एडभाइजरी जारी गरेका छन् ।

बिबिसीको एक समाचार अनुसार भारतले आफ्ना नागरिकहरूलाई अर्को सूचना जारी नभए सम्म इरान र इजरायलको यात्रा नगर्न सचेत गराएको छ । यसअघि त्यहाँ भएका भारतीयहरूलाई भारतीय राजदूतावासमा सम्पर्क गर्न सूचित गर्दै भारतले आफ्ना नागरिक फिर्ता गर्ने तयारी गरेको छ ।

अमेरिकाले पनि अहिलेको परिस्थिति अनुसार इजरायलमा आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ। इजरायल स्थित अमेरिकी दूतावासले कर्मचारीहरूलाई जेरुसेलम, तेल अविव तथा बीरशेवा क्षेत्रमा यात्रा नगर्न सतर्क गराएको छ ।

गत अप्रिलको पहिलो दिन इरानले सिरियाको राजधानी दमास्कसमा आफ्नो दूतावास माथि भएको आक्रमणमा इजरायल जिम्मेवार भएको बताउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएपछि इरान-इजरायल युद्धको सम्भावना बढेको हो ।

उक्त आक्रमणमा इरानका एक वरिष्ठ कमान्डर सहित १३ जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इरानले चाँडै इजरायल माथि हमला गर्ने सम्भावना रहेको सीबीसी न्युजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक अमेरिकी अधिकारीले खुफिया जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्भावित इरानी आक्रमणमा १०० भन्दा बढी ड्रोन, दर्जनौँ क्रुज मिसाइल र व्यालिस्टिक मिसाइल समेत प्रयोग गर्ने इरानको तयारी रहेको दाबी गरेको छ ।