धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी धरान एक्स्पोमा ‘मन्त्र ब्यान्ड’ले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

धरानका दर्शकले निकै प्रतीक्षा गरेको ‘मन्त्र ब्यान्ड’ले धरान एक्स्पोको बाह्रौँ दिन लाइभ प्रस्तुति दिन लागेको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । दार्जिलिङमा स्थापित मन्त्र ब्यान्डका ‘सधैँ सधैँ ’, ‘पहेली’, ‘नयाँ सपना’ लगायतका थुप्रै गीतहरू चर्चित छन् ।

एक्स्पोमा मन्त्र ब्यान्डसँगै स्थानीय कलाकारहरूले पनि आफ्ना कला प्रस्तुत गर्नेछन् ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।