धरान : नेकपा माओवादी केन्द्रले धरानमा मङ्गलवार रक्तदान कार्यक्रम आयोजना गरी २९ औँ जनयुद्ध दिवस मनाउने भएको छ । सोही अवसरमा सहिद परिवार सम्मान साथै साँझमा भानुचौकमा दीप प्रज्वलन सहित दिवस मनाइने भएको हो ।
मङ्गलवार बिहान रक्तदान कार्यक्रम, दिउँसो सहिद परिवार सम्मान र साँझमा सहिदहरूको सम्मानमा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको संयोजक उद्धव लिम्बुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
जनयुद्धमा सहिद, बेपत्ता भएकाहरूका धरानमा रहेका १४ सहिद परिवार, २ बेपत्ता परिवार समेत १६ परिवारलाई आर्थिक सहयोग सहित सम्मान प्रदान गरिने छ।
माओवादी १० बर्से जनयुद्धमा धरानका शहीदहरू यज्ञराज कार्की, लीलाप्रसाद पराजुली, दिपबहादुर बन, पर्वतराज कोइराला, रामबहादुर रामदाम, समसि राई, मचिन्द्र लाबुङ, ईश्वर तामाङ, दिलीप राई, मोहन खनाल, सन्तोषकुमार लिम्बू, मानबहादुर लिम्बु र बेपत्ता योद्धा दीपक विश्वकर्मा, रणशमशेर राई तारा रहेका छन्।
सहिद तथा बेपत्ता भई धरानमा बसोबास गरिरहेका परिवारलाई घरमै गएर सम्मान गरिने बताइएको छ । रक्तदान कार्यक्रममा ५०० प्रीन्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको संयोजक लिम्बुले बताए ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































