धरान : भारतमा एक जग्गा दलालले अवैध कारोबारको समाचार लेख्दै आएका पत्रकारलाई गाडिले किचेर हत्या गरेका छन् । यो घट्ना सोमवार ६ फेब्रुअरी दिउँसो १ बजेको हो । उक्त घट्नामा गम्भीर घाइते भएको भारतको महाराष्ट्र प्रान्तका पत्रकार शशिकान्त वारिसेको अस्पताल पुर्याएपछी मङ्गलवार बिहान मृत्यु भएको थियो ।

जग्गा दलाल पन्ढरीनाथ अम्बेकरले रत्नागिरी जिल्लाको राजमार्गमा पत्रकार वारिसे चढेको मोटरसाइकललाई नियतवश ठक्कर दिएका थिए । घट्नामा वारिसे मोटरसाइकल सहित गाडीको मुनी परेर गम्भीर घाइते उनलाई स्थानिय गाउँलेहरूले अस्पताल पुर्‍याएका थिए ।

मिडिया वाचडग फर स्पीच कलेक्टिभको रिपोर्ट अनुसार गाडीको मुनी किचिएका पत्रकार वारिसेलाई त्यतिकै छोडेर जग्गा दलाल पन्ढरीनाथ घटनास्थलबाट भागेका थिए । पत्रकार वारिसे मराठी भाषाको अखबार ‘महानगरी टाइम्स’का रिपोर्टर भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

पत्रकार वारिसेले अभियुक्त अम्बेकर अवैध जग्गा कब्जामा संलग्न रहेको र तेल प्रशोधन केन्द्र निर्माणको विरोध गर्दै आएका स्थानिय बासिन्दलाई धम्की दिएको खुलासा गरेका थिए । प्रहरीले अम्बेकरलाई गिरफ्तार गरी हत्याको अभियोगमा अनुसन्धान गरिरहेको छ । सिपीजेका एसिया संयोजक बेह लि यीले शशिकान्त वारिसेको हत्यामा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

उनले भनेका छन् ‘महाराष्ट्र सरकारले राज्यमा काम गर्दै आएका सबै पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिनुपर्छ र आक्रमण वा मारिएकाहरूको जबाफदेही खोज्नु पर्छ ।’ आइएनएसको समाचार अनुसार भारतमा गत वर्ष दुई अलग अलग घट्नामा पत्रकार सुभाषकुमार महतो र रोहित विश्वालको हत्या भएको थियो ।

ग्लोबल दण्डहीनता सूचकाङ्कमा भारत पत्रकारको सुरक्षाको सवालमा निकै तल छ । भारत पत्रकारका हत्याराहरूलाई न्यायको दायरामा ल्याउन सबै भन्दा खराब रेकर्ड भएको देशहरू मध्ये पर्दछ ।