धरान : बराह ग्रुप धरानद्वारा सञ्चालित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले आज पनि धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् । 

उनीहरूले बराहमा आफ्नो रकम बचत गरेको फिर्ता नपाएको बताउँदै बराहको सबै सम्पत्ति रोक्का गर्न माग गर्दै धरान उपमहानगरपालिकाको न्यायिक समितिमा न्याय माग्न आएको पीडित नेत्रप्रसाद श्रेष्ठले बताए । 

यसभन्दा अघि पनि पटक पटक धरान उपमहानगरपालिकामा न्याय माग्न आएको बताउँदै श्रेष्ठले मेयर र उपमेयरबाट बराहलाई समिति बनाएर बराहको सम्पत्ति रोक्का गर्ने लगायतको माग गरेको र मेयर र उपमेयरले पनि कारबाही प्रक्रिया अगाडी बढाउने भनेका थिए । तर अहिले सम्म धरान उपमहानगरपालिकाले पीडितको समस्यामा गम्भीर नदेखाएको पीडितहरूले बताए ।

आज पनि सयौँ बराह पीडितहरू आफ्नो पिडा बोकेर धरान उपमहानगरपालिका आएका थियौँ । तर मेयर र उपमेयर दुवै जना हुनुहुन्न रे, उहाहरुले हामीलाई साथ नदिएकोमा दुःख लागेको पीडितहरूले बताए। पीडितहरूले बराहको सबै सम्पत्ति रोक्का गरिनुपर्ने, सञ्चालकको निगरानी राख्नुपर्ने र बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने लगायतको माग गर्दै आएका छन् ।