धरान : उर्लाबारीको होटेल ग्रान्डको प्राङ्गणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणकोलागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरू ताज जित्ने होडमा छन्।
बिस दिन विभिन्न क्षेत्रका विज्ञहरूबाट इपिएस, व्यक्तित्व विकास, फेशन, र्याप वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धिहरुबाट तेस्रो मिस उर्लाबारी-२०२२, फर्स्ट रनरअप, सेकेन्ड रनरअप सँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस बेस्ट वाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिक चोइस, मिस फोटोजेनिक लगायतका सब टाइटल एवार्डहरु रहेका छन्। विजेताले पचास हजार नगद, फर्स्ट रनरअपले तिस हजार नगद र सेकेन्ड रनरअपले बिस हजार नगद सँगै विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विधा दाहाल, दिया दाहाल, शाकिरा कार्की, सुष्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई, अभिशाप रिमाल, अंकिता कटवाल, ज्वाला लिम्बु, मनीषा थापा, सोफिया लिम्बु, अंकिता बरुवाल, नेलीना कट्टेल, चञ्चल शाह, निशा धिमाल लगायतका प्रतिस्पर्धी छन्।
सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ।
यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन्।
स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धिहरुलाई निःशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजक जीवन चिमरिया बताउँछन्।









































































