धरान : आज मंगलबार ३००औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो। हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उनको वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।

पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनुपर्ने माग भइरहेको छ । पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

राजा पृथ्वी नारायणको स्मरणमा एकता दिवस मनाउँदै आइएकोमा ०६२/०६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको हो । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन। पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यता नदिए तापनि विभिन्न व्यक्ति, समूह र सङ्गठनहरूले आफ्नै किसिमले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइरहेका छन्।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।

पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा भएका थिए । शाहले राजगद्दीमा बसे लगत्तै नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पु¥आएका थिए । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उनले सुरुवात गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्रले सिंहदरबारको शालिकमा माल्यार्पण गर्ने

पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा आज पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राजदरबारका संवाद सचिव फणीराज पाठकद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

पूर्व राजा शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशको उपेक्षाका कारण देशको राजनीतिमा असन्तुलन आएको धारणा व्यक्त गरेका छन्। पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार एक सन्देश जारी गर्दै उहाँले गणतान्त्रिक शासन व्यवस्थाप्रति घुमाउरो असन्तोषसमेत व्यक्त गरेका हुन।

'जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ ।' जारी सन्देशमा भनिएको छ । उनले सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्नु ठिक नभएको उल्लेख गरेका छन् ।