धनकुटा : काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस धनकुटामा दुर्घटना हुँदा एक वृद्धा महिलाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रीबास नगरपालिका-५ भैंसेमा बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस माइक्रो अनियन्त्रित भई करिब ७० मिटर तल खसेपछि यो दुर्घटना भएको हो ।
धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीका अनुसार बिहान करिब ६ः१० बजे माइक्रो आफैं अनियन्त्रित हुँदा सडक छेउबाट खस्दै गम्भीर दुर्घटना भएको हो । दुर्घटनामा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको मृत्यु भएको छ । गम्भीर घाइते अवस्थाका कारण उनलाई तत्काल उद्धार गरी धनकुटा अस्पताल लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । उनीहरूमा संखुवासभा, भोजपुर, उदयपुर, सप्तरी, सिन्धुलीलगायत विभिन्न जिल्लाका यात्रु छन् । घाइतेहरू मध्ये संखुवासभाको सिलिचोङ–१ की ११ वर्षीया विनिता राई, ४९ वर्षीया वैकुण्ठी राई, ३९ वर्षीय नरेन्द्रकुमार राई, ३० वर्षीया संगीता राई, ४२ वर्षीया नरमाया राई, १४ वर्षीय जेसन राई, पाँचखपन नगरपालिका–९ की २४ वर्षीया ल्हामु शेर्पा, खाँदबारी–७ का ५० वर्षीय रत्नबहादुर विक र खाँदबारी–८ की ३८ वर्षीया कल्पना विक रहेका छन् ।
यस्तै, सप्तरीको कञ्चनरुप नगरपालिका–४ के ४४ वर्षीय कैलाश गुप्ता, भोजपुरको षडानन्द नगरपालिका–११ का ३२ वर्षीय बिकल कार्की, भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ का ३२ वर्षीय पासाङ शेर्पा, उदयपुरको लिम्चुङबुङ–१ की ४४ वर्षीया निर्जला राई, सिन्धुलीका १९ वर्षीय सन्तबहादुर तामाङ, धनकुटा महालक्ष्मी नगरपालिका–३ की ३० वर्षीया सुजता गिरी र माइक्रो चालक ३५ वर्षीय दीपेन्द्र बुढाथोकी पनि घाइते भएका छन् । घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीकी जवान रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको धनकुटा अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको धनकुटा प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिएका छन् ।


































































