इटहरी : २०७७ फाल्गुन ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सन्थाल बस्ती निमार्णमा अन्यौलता देखिएको छ। निक्कै तामझामका साथ शिलान्यास भएको बस्ती जग्गा विवादको कारण देखाउँदै ओझेलमा परेको हो।

कुल ३१ हजार ७६८ वर्ग मिटरमा निर्माण गर्ने तयारी सहित शिलान्यास भएको बस्तीमा अहिलेसम्म ठेक्का लाग्ने देखीबाहेक कुनै पनि काम हुन सकेको छैन । एकीकृत बस्ती विकास कार्यविधि २०७५ अनुसार निर्माण गर्ने भनिएको बस्तीलाई नमुना बस्तीको रूपमा रूपान्तरण गर्ने सरकारको योजना छ। स्थानीय सिप र कलाको प्रयोग गरी भान्सा सहित ३ कोठा र शौचालय सहितको घर बनाउने तयारी छ। सडक खानेपानी, स्वास्थ्य चौकी, खेल मैदान र सामुदायिक भवन सहितको नमुना बस्ती बनाउने ओलीले घोषणा गरेका थिए ।

शिलान्यास पछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सन्थाल जातीको सस्कृती संरक्षणको लागी बाजागाजाको व्यवस्था मिलाउने बताएका थिए । त्यही बाजा बजाएर नमुना बस्तीमा नाच्न तयार रहन आग्रह गरेका थिए । त्यसपछि लगत्तै सरकार परिवर्तन हुनु र स्थानीय सरकारले समेत चासो नदिँदा बस्ती निर्माण अन्यौलमा परेको हो।

कुल १३२ वटा घर मध्ये १०६ सन्थाल जातीको र २६ उराउ जातीको लागि बनाउने गरी योजना अगाडी बढेको थियो । त्यही १०६ भित्र आफ्नो घर पर्ने आसमा रहेका नन्दलाल किस्कु अहिले निराश भएका छन् । सरकारले आश देखाएर अहिलेसम्म निर्माण नगर्दा अन्योल भएको उनले बताए । छोराछोरीलाई पढाउन पाइने र आफूले पनि भुसको घर छाड्न पाइने सपना देखेका उनको विश्वास क्षीण बन्दै गएको छ ।

सहरी विकाश मन्त्रालयको गुरुयोजना अनुसार अगाडी बढेको बस्ती निर्माण प्रक्रिया जग्गा विवादको कारण रोकिएको उर्लाबारीका मेयर खड्ग फागोले बताए । ४० वर्षदेखि स्थानीयले चर्चेको जग्गा छाड्न नमानेपछि अन्यौलता देखिएको हो । हाल जग्गा चर्चेर बस्नेहरू सन्थाल उराउ जाती बाहेकका भएकाले पछि निर्माण भएको घर नपाउने भएपछि समस्या आएको उनले बताए ।

santhal-silanyas-kp
२०७७ फाल्गुन ८ गते सन्थाल बस्ती निर्माणको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली

शिलान्यासकै दिन बस्ती बन्नेमा ढुक्क नदेखिएका रोमन किस्कु नेताहरूले झुट बाचा गर्ने गरेको बताउँछन् । पहिला पनि धेरै नेताहरूले यसै गरी धोखा दिएको उनले सुनाए । 'ओलीले केही गर्लान् भन्ने लागेको थियो त्यो पनि भएन ।,' उनले भने, “मैले त्यही बेला शिलान्यास हुने बित्तिकै बन्ने पक्का त हुँदैन भनेको थिएँ । बोलेर मात्र कहाँ हुन्छ र सर ।”
खोला किनारामा छाप्रो हालेर बसेका बल्कु मार्डीलाई भने अझै आश मरेको छैन । गरिबको लागि भगवानले साथ दिन्छन् भन्ने उनलाई विश्वास छ।

शिलान्यास कार्यक्रममा बोल्दै सन्थाल जातीका प्रतिनिधि बुद्धीलाल सुरेनले पहिला देखी हामी आशु पुछ्दै बसेको र अब गरिब सन्थालका दिन फेरिएको बताएका थिए। ओलीलाई धन्यवाद दिएका उनी अहिले आफै निराश भएका छन् । पूर्वी नेपालको झापा र मोरङमा मात्र पाइने सन्थाल जाती सीमान्तकृत वर्ग हो। आदिवासी समेत रहेको सन्थाल राज्य स्तरमा प्रतिनिधित्व पुग्न सकेको छैन। २०६८ को जनगणना अनुसार ५१७३५ सन्थाल जाती नेपालमा बसोबास गर्छन् । त्यसमध्ये १७३६ ले मात्र सहरी सुविधा उपयोग गरिरहेका छन्।

एकीकृत सहरी विकाश कार्यक्रम अन्तरगत उर्लाबारी नगरपालिकाको रातोहोलीको किनारमा सन्थाल एकीकृत बस्ती निमार्ण गर्न लागिएको हो। १८ करोडको लागतमा बन्न लागको सो परियोजना १८ महिना भित्र सम्पन्न गरिसक्ने मन्त्रालयको योजना छ। नेपाल सरकारले लोपोन्मुख र अल्पसङ्ख्यकको सुचीमा राखेको सन्थाल समुदाय हिन्दु परम्परा मै अश्रीत छ। त्यसमध्ये ‘सोराही’ उनीहरूको सबैभन्दा महान् चाड हो । माघ शुक्ल पूर्णिमा देखी ५ दिनसम्म परीवारीक जमघट भएर उनीहरू यो चाड मनाउँछन् । दशैजस्तै मिठो मसिनो खाने र बाजा बजाएर नाच्ने चलन छ।

Santhal-jati-2