इटहरी : सुनसरी क्षेत्र नम्बर २ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । २०७९ को निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेस बिच मुख्य प्रतिस्पर्धा रहेको क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माहौल तताएको छ। काँग्रेस र एमालेका स्थायी मतको बाँध भत्काउने ध्याउन्नमा छ रास्वपा ।
यसअघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलसँगको गठबन्धनमा समेत काँग्रेस उम्मेदवार सिताराम मेहेता एमाले उम्मेदवार भीम प्रसाद आचार्यसँग ६ हजार बढी मतान्तरले पराजित भए । मेहेताले २६ हजार ५८ मत ल्याउँदा आचार्यले ३२ हजार ८ सय मत पाएका थिए । काँग्रेसको प्रभावशाली क्षेत्र मानिएको देवानगञ्ज र इनरुवामा समेत आचार्यले मेहतालाई उछिने । खासै चर्चा नभएको रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३ सय ८६ मत पाए । अपेक्षा गरेभन्दा बढी मत पाएका थापा यस पटक पनि उम्मेदवार बनेका छन् । केन्द्रीयस्तरबाट नै रास्वपाले चर्चा बढाएको छ । जसको फाइदा लिने पक्षमा छन् थापा ।
फाल्गुन २१ गते हुने निर्वाचनको लागि कुनै पनि दलले गठबन्धन गरेका छैनन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समेत पूर्वमन्त्री रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । यसअघि काँग्रेसले पाएको सो मत यसपटक नेकपाले नै राख्ने भएको छ। जसको घाटा बेहोर्नुपर्ने अवस्था छ काँग्रेस ।
तथापि यसअघिका उम्मेदवार मेहेतामा भन्दा कोइरालामा बढी आकर्षण देखिएको छ। चुनावी अभियानमा समेत काँग्रेस कार्यकर्ताहरू खुलेर भोट माग्न सक्ने अवस्थामा छन् । सादगी, अहिलेसम्म कुनैपनि लाभको पदमा नपुगेको, सरल र युवामैत्री भाव भएको नेताको रूपमा चिनिन्छन् कोइराला । युवाहरू सँगको घुलमिल देखि अध्ययनशील नेताको छवि उनले बनाएका छन् । दुई कार्यकाल काँग्रेस सुनसरी सभापति भइसकेका उनी हाल केन्द्रीय सदस्य छन्।
कोइराला उम्मेदवार बने लगत्तै काँग्रेस नेता कार्यकर्ताहरू उत्साहित भए । नयाँ उम्मेदवार लिएर भोट माग्न सकिने भन्दै हौसिए । चुनाव जित्न सकिने आङ्कलन गर्दै मक्ख परेका छन् । काँग्रेसलाई आत्मविश्वास बढ्नुको मुख्य कारण एमालेका उम्मेदवार हुन् ।
एमालेले इटहरीका युवा नेता सुजन लामालाई उम्मेदवार बनाएको छ । युवा केन्द्रित राजनीति गरेका उनी युवासंघ कोसी प्रदेश संयोजक हुन् । यसअघि जनतासँग खासै परिचित नभएका उनको उम्मेदवारीलाई लिएर काँग्रेसमा ऊर्जा थपियो । ऊर्जा मात्र थपिएन ‘चुनाव जितिसकियो’ भन्ने ‘ओभर कन्फिडेन्स’नै देखिएको छ । क्षेत्रीय सभापति लिलामणी सुवेदी काँग्रेसले चुनावी जित्नेमा आशङ्का नरहेको बताउँछन् ।
तर यस बिचमा लामाले पार्टी भित्र र बाहिर प्रभाव बढाउँदै लगेका छन् । पार्टीका आन्तरिक बैठकमा समेत उनले नेताहरूलाई विनम्रताका साथ आग्रह गरिरहेका छन् । युवापंतिलाई परिचालन गर्ने देखि पुराना मतदातालाई प्रत्यक्ष भेटेर संवाद गर्ने काममा लागेका छन् उनी । उनको सक्रियताले एमालेको मत सुरक्षित हुने सम्भावना छ । पुरानै अवस्थामा एमालेको मत सुरक्षित भए चुनावी परिणाम आङ्कलन गरेभन्दा भिन्न हुनसक्छ ।
अर्कातर्फ रास्वपाको आक्रामक प्रचारले एमालेको भन्दा काँग्रेसको मत बढी बाहिरिने सङ्केत छ । यसअघि सुनसरी २ (ख)को प्रदेशसभा निर्वाचनमा समेत अन्तर्घातको सिकार बनेका कोइरालालाई यस पटक रास्वपाको उभारले समस्यामा पार्न सक्छ ।
पार्टी भित्र र बाहिरपनि विवादित छवि बनाएका रास्वपा उम्मेदवार थापा नागरिकसँग परिचित अनुहार होइन । थापालाई नचिने पनि नागरिकले घण्टी र बालेन्द्र साह (बालेन)लाई चिनेका छन् । बालेनलाई घण्टीमा भोट हाल्ने मनसाय बनाएका काँग्रेसका मतदातालाई रोक्न सक्नु कोइरालाको लागि विजयी हुने पहिलो सङ्केत हो । पार्टी भित्र आन्तरिक एकता, कार्यकर्ता बिचमा आत्मीयता र सामाजिक सञ्जालमा सक्रियता बढाउन सके कोइरालालाई फलदायी हुने देखिन्छ ।
































































