• तेजन खड्का

काठमाडौँ : केही साताअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पीआर’ बाट रजतपटमा डेब्यू गर्ने अभिनेत्री हुन् बिनिता कार्की । क्रिसमसको दिनदेखि ओटीटी प्लेटफर्म प्लेटफर्म एमएसएम भिडियोमार्फत समेत स्ट्रिमिङ भएको यो फिल्ममा अभिनय गर्दै यी अभिनेत्रीले अभिनयमा आशा तथा सम्भावना बोक्ने अभिनेत्रीको रूपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।

नेपाली फिल्म क्षेत्रकै लागि कान्छी अभिनेत्रीको रूपमा उदाएकी बिनिता कार्कीले डेब्यु फिल्ममै सशक्त उपस्थिति जनाउँदै आफू ‘नयाँ अनुहार’ मात्र नभई, अभिनय क्षमता बोकेकी कलाकार भएको प्रमाणित गरेकी छिन् ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ मा बिनिताले नेपालबाट अस्ट्रेलिया पुगेकी एक साधारण युवतीको सपना, सङ्घर्ष तथा भावनात्मक उतार–चढावलाई अत्यन्त स्वाभाविक रूपमा प्रस्तुत गरेकी छिन् ।

उनको अभिनयमा देखिने संवेदनशीलता, संवाद बोल्ने शैली तथा आँखाबाट भाव व्यक्त गर्ने कला दर्शकका लागि विशेष बनेको छ । यही कारण, रिलिजसँगै उनको अभिनयको खुलेर प्रशंसा भएको छ ।

सामाजिक सञ्जालमार्फत अडिसन दिएर फिल्ममा प्रवेश गरेकी बिनिताको यात्रा आफैँमा प्रेरणादायी छ । अस्ट्रेलियामा रहेर पनि नेपाली फिल्मप्रतिको मोह नछोड्नु तथा डेब्यू फिल्ममै मुख्य भूमिका पाउनु उनको लगनशीलता र आत्मविश्वासको उदाहरण हो ।

आज बिनितालाई नेपाली फिल्म क्षेत्रमा भविष्यकी सम्भावनायुक्त अभिनेत्रीको रूपमा हेरिन थालेको छ । ‘पीआर’ बाट प्राप्त प्रतिक्रिया उनको आगामी यात्राको बलियो आधार बन्ने अपेक्षा गरिएको छ ।

५ फिट ७ ईन्च उचाइ भएकी बिनिताले निरन्तर मेहनत तथा सही अवसर पाए नेपाली फिल्म उद्योगमा आफ्नै पहिचान स्थापित गर्ने विश्वास धेरैले गर्न थालेका छन् ।