धरान : धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ को उपाधि साजिलाल माविले हासिल गरेको छ ।

बिहीबार हिबिस्कस स्कुलको प्राङ्गणमा सम्पन्न ग्रान्ड फिनालेमा साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैचा मोरङ विजेता बनेको हो । विजेता साजिलाल माविले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुल चक्रघट्टीले उपबिजेतामा चित्त बुझाउँदै नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसै गरी सेकेन्ड रनर अप धरान मेघा हिमालयन स्कुल,तेस्रो स्थान महेन्द्र माध्यमिक विद्यालय, तित्रीगाछी–वराहक्षेत्र, चौथो स्थान तरहरा मोडल एकेडेमी बन्न सफल भएको छ ।

आयोजक स्कुल हिबिस्कस इङ्लिस बोर्डिङ सान्त्वना स्थानमा चित्त बुझाएको छ । उनीहरूले तेस्रोले ८ हजार,चौथोले ६ हजार,पाँचौँले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बौद्धिक प्रतियोगिताले विद्यार्थीहरूको सोच्ने क्षमता र स्मरण शक्ति विकास गर्नुका साथै लोकसेवा तयारीमा समेत सहयोग पुग्ने बताए ।

विजेता तथा सहभागी टिमहरूलाई प्रमुख अतिथि बेघा र निर्णायक द्वय नवोदिप साह र सुरेश रेग्मीले पुरस्कार वितरण गरेका थिए।

स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबेले प्रतियोगितालाई आगामी दिनमा देशव्यापी रूपमा विस्तार गरिने जानकारी दिए। स्कुलका सल्लाहकार पवन झाले हिबिस्कस स्कुल रहेसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

बुधवार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालयमध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देशक गङ्गाराम राई ले बताए। प्रतियोगिताको क्विज मास्टर नयन राज राई रहेका थिए।