धरान : हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ को आयोजनामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ सञ्चालन हुने भएको छ। प्रतियोगितामा ४४ विद्यालयको सहभागिता रहने भएको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिता पुस ९ र १० गते दुई दिनसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुने जानकारी दिए।
उनले प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिने बताए। विद्यालय प्रशासनले यस प्रतियोगिताले विद्यार्थीहरूलाई लोकसेवा आयोग जस्ता प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
२०६२ सालमा स्थापना भएको हिविस्कस स्कुलले शिक्षा, अनुशासन र नैतिकतालाई केन्द्रमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयको दाबी छ।
विद्यालयका निर्देशक गङ्गाराम कुलुङले पठनपाठनसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै समावेशी शिक्षामार्फत न्यून आय स्तरका परिवारका बालबालिकालाई समेत शैक्षिक अवसर उपलब्ध गराउँदै आएको बताए।
उनका अनुसार पुस ९ गते हुने पहिलो चरणबाट छनोट भएका ६ टिमले पुस १० गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
यसअघि धरान नगर स्तरीय रूपमा सुरु भएको प्रतियोगिता गत वर्ष सुनसरी जिल्ला स्तरीय बनेको थियो भने यस वर्षदेखि खुला प्रतिस्पर्धाका रूपमा विस्तार गरिएको विद्यालयले जनाएको छ।
हाजिरी जवाफमा रुचि राख्ने जुनसुकै विद्यालयले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको निर्देशक कुलुङले बताए।
प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ नगदसहित रनिङ ट्रफी,मेडल र प्रमाणपत्र, उपविजेताले १५ हजार,तेस्रो हुनेले ८ हजार,चौथो हुनेले ६ हजार,पाँचौँ हुनेले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
२०७९ सालदेखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करण हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो संस्करण नेपाल पुलिस स्कुल र गत वर्षको संस्करणमा पुनः हिविस्कस स्कुल विजेता बनेको थियो।
कार्यक्रमको सह–संयोजकमा विकास साह, जनसम्पर्क समन्वयमा नयनराज राई तथा प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ।