धरान : नेवार समुदायको मौलिक परिकार यमरी तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा छैटौँ यमरी उत्सव मनाइएको छ।
तीन दिनसम्म चल्ने उत्सव मङ्सिर २७ गतेदेखि २९ गतेसम्म धरान–३ स्थित शंखरधर साख्वा, चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोड क्षेत्रमा सञ्चालन भइरहेको छ।
उत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहु सांस्कृतिक तथा विविध भेसभुसायुक्त मुलुक भएको उल्लेख गर्दै नेवार समुदायले नेपालको निर्माण र सांस्कृतिक पहिचानमा खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो। उहाँले नेवार समुदायको भाषा, भेष भूषा र संस्कृतिको जगेर्नाका लागि प्रदेश सरकार तल्लीन रहेको बताए।
मन्त्री मण्डलले यमरीलाई नेवार संस्कृतिको महत्त्वपूर्ण पहिचानका रूपमा उल्लेख गर्दै पर्यटन विकासका लागि संस्कृति, प्रकृति र विकास तीन वटै पक्ष उत्तिकै आवश्यक रहेको बताउनुभयो। नेपालको मौलिक संस्कृति र भेष भूषाले पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्याउने बताए ।
मन्त्री मण्डलले धरान खेलकुद, धार्मिक तथा सांस्कृतिक पर्यटनका हिसाबले अग्रणी शहरको रूपमा अघि बढिरहेको चर्चा गर्दे भने पर्यटन, वन तथा वातावरण मन्त्रालयले धरानलाई पर्यटनमैत्री बनाउन पहल गरिरहेको छ ।
उत्सवको अवसरमा ५ फिट अग्लो यमरीसहितको र्यालीले धरानका मुख्य बजार परिक्रमा गरेको छ। उक्त यमरी उत्सव स्थलमा आकर्षक रूपमा सजाएर राखिएको छ। तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेष भूषा प्रदर्शन तथा नेवारी खानाका स्टलहरू राखिएका छन्।
यःमरी पुन्ही नेवार समुदायको महत्त्वपूर्ण पर्व हो। यस उत्सवले स्थानीय संस्कृति जगेर्ना, परम्परा संरक्षण तथा समुदायगत पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजक पाखा खल धरानले लिएको छ।
उत्सवकै अवसरमा नेवार समुदायका सामाजिक व्यक्तित्वहरू ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, डाक्टर सन्दीप बज्राचार्य तथा फुटबलका लेजेण्ड राजु काजी शाक्य लगायतलाई सम्मान गरिएको आयोजकले जनाएको छ।