धरान : नेवार समुदायको मौलिक परिकार यमरीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पासा खल: धरानको आयोजनामा छैटौँ यमरी उत्सव मनाइने भएको छ ।

उत्सव मङ्सिर २७ देखि २९ गतेसम्म धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा) चन्द्रपुर बजार,चिनियाँ चोक र जल्पा रोडमा मनाइने मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा प्रदर्शन,र नेवारी खानाका स्टलहरू रहने आयोजकले बताएका छन्।

यमरी पर्व (यःमरी पुन्ही) नेवार समुदायको महत्त्वपूर्ण पर्व हो। यस उत्सवले स्थानीय संस्कृति जगेर्ना, परम्परा संरक्षण, र समुदायगत पहिचान मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।

धरानमा लगातार छ वर्षदेखि मनाइँदै आएको यमरी उत्सवले स्थानीय बासिन्दा, पर्यटक, र सांस्कृतिक समूहबिच मेलमिलाप र सांस्कृतिक एकता बढाउने माध्यमको रूपमा काम गरेको आयोजक समितिले बताएको छ ।

उत्सवमा करिब २सय जना सांस्कृतिक कलाकारले धिमे नृत्य, बाँसुरी, मादल, नत्यखी, धा बाजा लगायतको संयुक्त प्रस्तुति दिने भएका छन्। खलका महासचिव अमृत श्रेष्ठ आचार्जुले भने, “यमरी केवल खानाको परिकार मात्र नभएर नेवार जातिको सांस्कृतिक पर्व पनि हो।

नेवार जातीको परिकार, संस्कार,संस्कृतिको संरक्षण र प्रवर्द्धनको लागि उत्सव आयोजना गरिएको हो। महासचिव आचार्जुले उत्सव स्थलमा गत वर्ष जस्तै ५ फिटको यमरी नगर परिक्रम गरिने तयारी गरिएको छ।उत्सवमा परम्परागत नेवारी परिकार र बहुजातिय खानाका परिकारहरू सहितको २५ देखि ३० वटा स्टलमा राखिने भएको छ ।

यमरीलाई नेपाली सेफ सन्तोष शाहले सन् २०२० मा विश्व स्तरमा प्रस्तुत गरेका थिए।आधुनिक तरिकाले प्रस्तुत गरेको यमरीलाई निर्णायकहरूले सांस्कृतिक महत्त्व र मौलिकताका आधारमा प्रशंसा गरेपछि नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेको आयोजकले बताएका छन्।

उत्सवले स्थानीय सांस्कृतिक पर्यटन,परम्परागत सीप, र सांस्कृतिक व्यवसायीकरण प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकले नगरवासी,सामाजिक संस्था, सरकारी तथा गैर–सरकारी निकायहरूलाई आर्थिक सहयोगका लागि पनि अनुरोध गरेका छन्।