धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको महिलामा हुने रोग स्तन क्यान्सरका विशेषज्ञहरूको टिमले गरेको एक अध्ययनमा पूर्वका आदिवासी जनजाति (मङ्गोल ) महिलाहरूमा कम उमेरमै स्तन क्यान्सर हुने गरेको पाइएको छ ।
प्रतिष्ठानमा स्तन क्यान्सरको उपचारका लागि आएका ६० जना महिलामा गरिएको अध्ययन गरिएको थियो । प्रतिवेदनको निश्कर्षबारे जानकारी दिदैं अंकलोजिष्ट डा. सोनिया दुलालले भनिन् ‘अध्ययनमा सामेल समुदायहरू मध्ये मगोलियन (आदिवासी जनजाती) महिलामा सबै भन्दा बढी ६५ प्रतिशत स्तन क्यान्सर भएको देखियो ।’ अध्ययनमा सबै जातिका स्तन क्यान्सर पीडित महिला सामेल छन् ।
विश्वमा महिलाहरूमा स्तन क्यान्सर हुने जोखिमको मापदण्ड ५० वर्ष भन्दा माथि छ । अध्ययनमा त्यस भन्दा कम उमेर ३० देखी ४० वर्षमा स्तन क्यान्सर भएको पाइएको छ ।
यसबाट पूर्वका आदिवासी जनजाति, चिकित्सा विज्ञानको भाषामा मङ्गोल महिलाहरूमा कम उमेरमै स्तन क्यान्सर हुने जोखिम रहेको उनले बताइन् ।
कम उमेर र मङ्गोल समुदायमा स्तन क्यान्सर १० प्रतिशत उनीहरूको जीनबाट आएको डा.सोनियाले बताइन् । अध्ययनमा ३ गुणा बढी २७ प्रतिशत स्तन क्यान्सर एउटै परिवारको वंशाणुगत पाइएको उनको भनाई छ । ‘जीन’ (डीऑक्सीराइबोन्यूक्लिक एसिड) डिएनएको एक खण्ड हो । डिएनए माता÷पिताबाट सन्तानमा आउने लक्षण हो ।
उक्त जोखिमबाट बच्न वंशाणुगत जीनमा स्तन क्यान्सरको जोखिम भएकाहरूले क्यान्सर नभएको अवस्थामा पनि स्किनिङ क्लिनिङ गराउनु पर्ने उनले बताइन् । बिपी प्रतिष्ठानमा उक्त चेकजाँच गराउने सुविधा हप्तामा एक पटक सञ्चालन हुँदै आएको छ । यसबाट क्यान्सरको खतराबाट जोगिन सकिन्छ ।
डा.सोनियाले भनिन् ‘तर अधिकांश महिला स्तन क्यान्सर भएको तेस्रो स्टेजमा मात्र अस्पताल आइपुग्छन् ।’ उनका अनुसार क्यान्सरलाई चिकित्सा विज्ञानले ४ स्टेजमा विभाजित गरेको छ । चौथो स्टेजको क्यान्सर शरीरको एक ठाउँबाट अन्य ठाउँमा सरेको अवस्थालाई बुझाउँछ ।
अन्तर्राष्ट्रिय ‘स्तन क्यान्सर महिना’ मनाउने तयारी गरिरहेको प्रतिष्ठानको क्यान्सर विभागद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा डा.सोनियाले उक्त प्रतिवेदन सार्वजनिक गरेकी हुन । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष अङ्ग्रेजी अक्टोबर महिनालाई स्तन क्यान्सरप्रति सचेतना बढाउन स्तन क्यान्सर महिना मनाउँदै आएको छ ।
बिपीमा स्तन क्यान्सरका ३००० बिरामी
नेपालमा स्तन क्यान्सर सर्जरीमा पहिलो महिला एमसीएच डा.शारदा खड्काले प्रतिष्ठानमा सन् २०२१ देखि २०२५ सेप्टेम्बर सम्म ४ वर्षको अवधिमा ८५ हजार स्तन क्यान्सरका बिरामी आएको बताइन् । गत वर्ष मात्र यो सङ्ख्या ३००० पुगेको उनले जानकारी दिइन् ।
उनका अनुसार प्रतिष्ठानमा क्यान्सरको ओपिडीमा दैनिक ७० जनाको सङ्ख्या हुने गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ एक वर्षका अवधिमा स्तन क्यान्सरको ८० वटा शल्यक्रिया भएको छ । सोही अवधिमा स्तन क्यान्सरका ३ हजार बिरामीको चेकजाँच गरिएको हो ।
डा.खड्काले भनिन् ‘सरकारले स्तन क्यान्सरको उपचारलाई स्वास्थ्य बिमा र विपन्न वर्गको सुविधामा समावेश गरेको छैन ।’ त्यस कारण अस्पतालमा आउने आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका लाई स्तन क्यान्सरको शल्यक्रिया गर्न कठिनाई छ ।
डा. खड्काले भनिन् ‘स्तन क्यान्सरको उपचारको एक मात्र उपाय शल्यक्रिया हो ।’ विपन्न वर्गको सुविधा र बिमामा स्तन क्यान्सर समावेश नगर्दा शल्यक्रिया गराउन नसक्नेहरूको अकालमा ज्यान जान सक्छ । सरकारले महिलाको स्तन क्यान्सरलाई बिमा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्नु पर्ने उनले माग गरिन् ।
बिपी प्रतिष्ठानमा स्तन क्यान्सरको सबै उपचार उपलब्ध रहेकाले समयमा उपचार गर्न सकिने सुविधा रहेका उनले बताइन् । प्रतिष्ठानमा क्यान्सर रोकथाम सम्बन्धी, स्क्रिनिङ्ग ओपिडी, ग्यास्ट्रोइन्टेस्टाइन इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सर अवेयरनेस प्रोग्राम, भिजुअल इन्स्पेक्स्सन वीथ एसिटिक एसिड, एचपिभिडिएनए टेष्टिङ्ग र कोल्पोस्कोपी सेवा सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
क्यान्सर विभाग प्रमुख डा.सुरेशप्रसाद साहले भने ‘प्रतिष्ठानमा क्यान्सर उपचारको सबै सुविधा छ, रेडियम थेरापीको मात्र कमी छ ।’ त्यसको लागि मिडियाले सरकारको ध्यानाकर्षण गराई दिन आग्रह गरे । रेडियम थेरापी क्यान्सरको उपचार र शल्यक्रियापछि संक्रमण रोक्न प्रभावकारी प्रविधि हो ।