धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.रबिन मास्के, डा.रञ्जित दास र डा.अभिनाश राईले प्रतिष्ठानको जागिर खाँदै नियम विपरीत गेट बाहिर मेडिकल व्यापार गर्दै आएको खुलासा भएको छ ।
प्रतिष्ठानमा विभागीय प्रमुख रहेका डा.रबिन मास्केले धरान-१८ स्थित बुद्ध चोकमा रहेको एमसी क्याफे माथि पहिलो तलामा तिरुपति रिसर्च एण्ड डाईगोनेस्टिक सेन्टर सञ्चालन गर्दै आएका छन् । उक्त सेन्टर एक वर्ष देखि सञ्चालनमा छ ।
प्राइभेट मेडिकल सेन्टर सञ्चालनमा उनीसँगै प्रतिष्ठानमै कार्यरत डा.अभिनास राई, डा.रञ्जित दास लगायत चिकित्सकहरू पनि संलग्न रहेको खुलासा भएको हो । डा.मास्केले प्रतिष्ठानमा आएका बिरामीहरूलाई तिरुपतिमा बोलाउँदै बिरामी चेकजाँच गर्दै आएका छन् ।
डा. मास्के प्रतिष्ठान जाने समयमा बिहान साढे १० र ११ बजे देखि सेन्टरमा बिरामी जाँच्न आउने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार मास्के लगायत डाक्टरहरू विपीमा ड्युटीको समयमा पनि बिरामी आएपछि आउँदै जाँदै गर्ने गरेका छन् । स्रोतले भन्यो ‘मास्के विपीमा बिरामी छोडेर पनि आफ्नो क्लिनिकमा आउने गरेका छन् ।’
प्रतिष्ठानभित्र पूर्णकालीन सेवामा कार्यरत चिकित्सकहरूले गेट बाहिर तथा निजी क्षेत्रमा निजी क्लिनिक सञ्चालन गर्न नपाउने प्रावधान छ । तर उनीहरूले निजी रूपमा सेवा सञ्चालन गरेको पाइएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ ले बिपी प्रतिष्ठानका शिक्षक कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारका वैतनिक र अवैतनिक काम गर्न नहुने गरी बन्देज लगाएको छ ।
डा. मास्केले भने प्रतिष्ठान भित्र विभागीय प्रमुखको जागिर खादै गेट बाहिर मेडिकलको व्यापार गर्न क्लिनिक खोलेका हुन । उनले बिपीमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा बोलाएर उपचार गर्ने ल्याब र मेडिकल सामाग्री खरिद गर्न लगाउने समेत गरेका छन् ।
प्रतिष्ठानका डाक्टरहरूले बाहिर कुनै पनि क्लिनिकमा प्राक्टिस गर्न, क्लिनिकहरूमा काम समेत गर्न नपाइने व्यवस्था छ । क्लिनिक खोल्न नपाउने नियमको ठाडो उल्लङ्घन गर्दै गेटको २०० मिटर भित्र क्लिनिक सञ्चालन गरिएको हो ।
यस्तो छ प्रतिष्ठानको कानुनी प्रावधान :
नेपाल मेडिकल काउन्सिलद्वारा जारी “कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट, २०१७” को धारा ३ को उपदफा ५ को १ मा भनिएको छ ‘“कुनै चिकित्सकले आफ्नो कार्य स्थानमा तोकिएको समयावधिभित्र वा त्यही संस्थाको प्रत्यक्ष प्रतिस्पर्धामा पर्ने स्थानमा निजी अभ्यास गर्न पाइँदैन ।”
बीपी प्रतिष्ठान ऐन, २०४९ को धारा १२ ले प्रतिष्ठानका शिक्षक तथा चिकित्सकलाई “पूर्णकालीन सेवामा रहने” उल्लेख छ । ऐन अनुसार, प्रतिष्ठानमा कार्यरत चिकित्सकले अन्यत्र व्यावसायिक अभ्यास गर्न संस्थाको स्वीकृति लिनु पर्दछ ।
स्थानीय स्वास्थ्य निर्देशिका अनुसार छनौट गरिएको स्थान त्यस्तै प्रकृतिको अस्पताल रहेको स्थानको मूल गेटबाट २०० मिटर दुरी टाढा हुनुपर्ने व्यवस्था छ ।
'डाक्टरले नै क्लिनिकमा बोलाए'
डा. मास्केले नै ‘तपाईँहरूलाई लाइन बस्न झन्झट हुन्छ फोन सम्पर्क गरेर आउनुस्’ भन्दै सम्पर्क नम्बर दिएर क्लिनिकमा बोलाउने गरेको बिरामीहरूको भनाइ छ ।
उदयपुर रामपुरकी भगवती कार्कीले आफू थाइराइडको बिरामी भएकोले फलोअपमा आइराख्नु पर्ने बाध्यता रहेको बताइन । फलोअपकालागि बीपीमा डाक्टर भेट्न नसकेपछि डाक्टर मास्केकै सिफारिसमा सो क्लिनिकमा आएको उनले बताइन् ।
अर्का बिरामी राम श्रेष्ठले भने, “सुगरको बिरामी भएकोले फलोअप आइराख्नुपर्ने, डाक्टरको सल्लाह लिइरहनु पर्ने भएकाले उपचारका लागि डाक्टरले फोन गरेर बोलाउँछन् ।’ बीपीमा जस्तो लाइन बस्न नपर्ने भएकाले झन्झट मुक्त हुन क्लिनिकमै आउने गरेको बताए ।
धरान-१८ की आशा लिम्बूले भनिन, “थाईराईड सुगरको बिरामी भएकाले विगत १४ वर्ष देखि फलोअपमा छु । विपीमा गयो, डाक्टर भेटिँदैन, लाइनमा बस्नुपर्ने बाध्यता छ, डाक्टर मास्केले नै विगत वर्ष देखि हेरिराख्नु भएकाले उहाँसँगै उपचारमा छु ।’
उनका अनुसार यहाँ छुट्टै चार्ज तिर्नुपर्छ । यहाँ आएर नाम दर्ता गरेपछि डाक्टरले फोन गरेर बोलाउँछन् । लाइनमा बस्नु पर्दैन । यही ल्याबसँगै सबै थोकको व्यवस्था भएकाले समयको बचत हुन्छ ।
कसैले भन्न सकेका छैनन् : रजिष्ट्रार सङ्ग्रौला
प्रतिष्ठानका रजिष्ट्रार सूर्य प्रसाद सङ्ग्रौलाले विपीमा बेथिति व्याप्त रहेको बताए । उनले भने ‘सीमित व्यक्तिहरूले व्यक्तिगत स्वार्थ लिइरहेका छन् तर सबै डाक्टर प्रोफेसर त्यस्ता छैनन् ।’ केही डाक्टरहरूले प्रतिष्ठानको नियम विपरीत कार्य गरिरहेको थाहा छ तर कसैले भन्न नसकेकाले प्रतिष्ठानले प्रमाणित गर्न नसकेको उनले बताए ।
उनले भने ‘प्रमाणित भए कानुन बमोजिम सबैलाई कारबाही हुन्छ, प्रतिष्ठान सुधार गर्न पदाधिकारी सच्चिन जरुरी छ ।’ उपकुलपति प्राडा. विक्रम श्रेष्ठमा केही गरौँ भन्ने हुटहुटी, जोस जाँगर भएकोले सुधार गर्ने बताउँदै उनले भने ‘नियम कानुन विपरीत कार्य गर्ने सबैलाई कारबाही हुन्छ कारबाही गर्न तयार छौँ ।’