इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा झन्डै शतप्रतिशत बालबालिका आधारभूत शिक्षामा संलग्न भएको पाइएको छ । वडा नम्बर ६ ले आयोजना गरेको बाल भेला तथा प्रतिभा प्रस्फुटन कार्यक्रममा ९९ दशमलव ८५ प्रतिशत बालबालिका आधारभूत शिक्षामा संलग्न भएको बताइएको हो । 
बालमैत्री नगर घोषणा कार्यक्रमको तयारी स्वरूप आयोजना गरिएको प्रतिभा प्रस्फुटन कार्यक्रममा १० वटा विभिन्न विद्यालय र १९ बाल समूहका बालबालिकाले सहभागिता जनाएका थिए । सात सय बालबालिका सहभागिता रहेको कार्यक्रममा गायन, नृत्य, कविता, निबन्ध, गजल, वाद्यवादन लगायत विधामा तीन सय बढी बालबालिकाले प्रतिभा प्रस्तुत गरे ।
४३ जना बालबालिकाले चित्रकला मार्फत आफ्नो क्षमता देखाएको बताइएको छ ।प्रतिस्पर्धात्मक रूपमा नभई बालबालिकाको क्षमता बुझ्न र अवलोकन गर्नको लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नीराजन खड्काले बताएका छन् ।
प्रतिभा प्रस्तुत गर्ने बालबालिकालाई प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गरिएको उनको भनाइ छ । 
६ नम्बर वडाका अध्यक्ष दिवस पोखरेलका अनुसार बालबालिकाको क्षमता मूल्याङ्कन गर्ने र सोही अनुसार क्षमता बढाउन लागिने भएको छ ।
बालबालिकालाई सानैदेखि सामाजिक उत्तरदायित्व र जिम्मेवारी बोध गराउने अभ्यास थालिएको उनले बताए । 
६ नम्बर वडामा ९७ प्रतिशत पाँच वर्ष मुनीका बालबालिकाले जन्म दर्ता प्रमाणपत्र पाएको र ५ वर्ष मुनीका ४२५ बालबालिकाले कुपोषणमुक्त खोप लगाएको तथ्याङ्क छ ।
bal-bikash