धरान : गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटका गाडिलाई ‘राइड सेयरिङ’ को नाममा भाडामा यात्री बोक्न पाउने नियमावली लागु गरेको विरोधमा यातायात व्यवसायीहरूले आज सोमवार देखी देशभर अनिश्तिकालिन यातायात हडताल गरेका छन् ।
हडतालका कारण कोशी प्रदेशका सार्वजनिक यातायात आज बिहानै देखी ठप्प भएको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बताए ।
उनका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको हो ।
संयोजक श्रेष्ठका अनुसार यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।
उनले भने ‘देशव्यापी बन्दको प्रभाव धरान लगायत पूर्वी पहाडी क्षेत्रमा परेको छ, यातायात ठप्प रहेको छ, बन्द प्रभावकारी हुन्छ ।’
उक्त नियमावली खारेजीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न गरिएको अनुरोधमा सुनुवाइ भएन । सुनवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनले बताए ।
आइतबार केन्द्रीय सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा जेठ १९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा सक्दो सहयोग गर्न अपिल गर्दछौँ ।’