इटहरी: इटहरीमा जारी ग्रास रुट फुटबल क्याम्पलाई सहयोग पुग्नेगरि युवा तथा खेलकुद मन्त्रीले पर्याप्त बजेटको व्यवस्था गर्ने बताएका छन् ।
खेलाडी उत्पादनमा लगानी गर्ने बताउँदै मन्त्रालयले प्रशिक्षण केन्द्रको स्थापना मार्फत खेलकुदको विकास गर्ने बताए । यससँगै राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लबको सहकार्यमा जारी ग्रास रुट फुटबल क्याम्पले पर्याप्त बजेट पाउने भएको छ ।  
सङ्घीय सरकार मातहत रहेको इटहरी रङ्गशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रको रूपमा स्थापना गर्ने बचन दिएका मन्त्री चौधरीले इटहरी खेलकुदको केन्द्र बन्ने उद्घोष गरे ।
धरानको पानमारामा जारी फुटबल प्रतियोगिताको समापन कार्यक्रममा आएका मन्त्री चौधरीले इटहरीमा पत्रकारहरू सँग संक्षिप्त कुराकानी गरे ।
सोही क्रममा उनले इटहरी रङ्गशालामा पर्याप्त बजेट विनियोजन हुने र इनरुवा रङ्गशालालाई स्थानीय सरकार मातहत लैजाने बताए । 
‘इटहरी रङ्गशाला कोशी प्रदेशको तालिम केन्द्रको रूपमा विकास हुन्छ ।
एथलेटिक्स, फुटबल लगायत अन्य खेलकुदका विधाहरूमा इटहरी प्रशिक्षण केन्द्र बन्नेछ । होस्टेल राखेर हुन्छ कि कसरी हुन्छ तालिम दिने व्यवस्था हामी मिलाउँछौ,’ उनले भने ।