विराटनगर : गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ ।
डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको सङ्गीत सिर्जना एवं स्वरूपराज आचार्यको स्वर रहेको छ । वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषको लामो समयपछि कमब्याक भएको छ ।
‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट यू ट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ ।
बहुसङ्ख्यक मानिसहरूले समय क्रममा स्वार्थ प्रेरित कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश सो गीतमा रहेको छ ।आजभोली मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ लिने तर आफ्नो स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा गहनरुपमा प्रस्तुत गरिएको छ ।
गीतकार नारायण खतिवडाका यसभन्दा पहिला पनि दर्जनौँ गीतहरू बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति सङ्ग्रहमा एक सय नौ वटा गीतहरू समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखूँ देखूँ, सन्देश पुर्याइदेऊ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौँ गीत बजारमा आइसकेका छन् ।
सरकारी सेवामा रहेका खतिवडा गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा पनि कलम चलाउँदै आएका छन् । सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घटना, प्रेम, वियोग, राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचनात्मक र सन्देशमूलक भावसहित साहित्यमा उतार्न स्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ ।
खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक सङ्गीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रिपक्षीय संयोग बनेको छ स्वार्थी संसार गीत ।