धरान : यसपालीको उभौली साकेला पूर्व सुनसरीका राई जातिले कोशी प्रदेश नामकरणको खारेजी धरान–२० मा बन्ने सुन्नीमा पारुहाङ पतिमा निर्माण अभियानमा केन्द्रित हुँदै मनाइने भएको छ ।

किरात राई यायोक्खाद्धारा शनिवार आयोजित पत्रकार सम्मेलनमा यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले उक्त जानकारी दिएका हुन । यसपाली धरानमा सकेला मनाउन थालेको २५ औँ वर्ष पुगेकाले समापन समारोहमा अन्य भाषा भाषीलाई पनि सम्मान गरिने उनले बताए ।

उनले भने ‘कोशी नामकरण खारेजी प्रदेश १ को पुनः नामकरणको माग सहित धरान–२० मा  बन्ने सुन्नीमा पारुहाङ प्रतिमा निर्माण अभियानलाई तिब्रता दिँदै यसपाली साकेला मनाइने छ ।’

उनले पुनः नामकरणको सवालमा नेपालको प्राचीन सभ्यता एवं बहु पहिचानको आधारमा किरात प्रदेश हुनुपर्ने किरात राईहरूको माग रहेको बताए । साकेलामा साङकेतीक विरोध स्वरूप ब्यानर र प्रचार प्लेटमा १ नम्बर प्रदेश मात्र लेख्ने अध्यक्ष राईको भनाई छ ।

साकेला उभौली वैशाखे पूर्णिमा देखि औँसी सम्म विधिवत् रूपमा ढोल झ्याम्टा फुकाई १५ दिन सम्म  आँगनमा स्याउली गाडेर धूमधाम साकेला शिली नाची चाड मनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

साकेला यायोक्खा सुनसरी जिल्ला समितिको आयोजनामा जेठ १७ शनिवार देखी धरान–१७ साकेला पार्कमा साकेला शिली प्रदर्शन प्रतियोगिता हुने जानकारी दिइएको छ ।

किरात समुदायले उभौली साकेला समय राम्रो होस, अन्नबाली सप्रियोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख शान्ति होस भन्दै सिमे भूमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने याम सुरु भएको रूपमा मनाउने गरेको अध्यक्ष राईले बताए ।

प्रतियोगितात्मक साकेला सिली प्रदर्शन सहित जातीय पहिरन, सहभागिता,संस्कार सस्कृती सजावट सहित १५ वटा विधा मुल्याङकन गरेर प्रतियोगी छनौट हुने बताइएको छ ।

प्रतियोगीताका विजेताले नगद ४० हजार उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार नगद र प्रमाणपत्र दिइने भएको छ ।