धरान : किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी प्रतियोगितासँगै आयोजित साकेला समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबलबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी प्रीति राईलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले सम्मान गरिएको छ ।

साथै राष्ट्रिय एथलेटिक्स कबड्डी प्रशिक्षक पार्वती राई, धरानको पर्यटकीय नक्सा डिजाइनर इन्जिनियर पारसमणि राई, महेन्द्र क्याम्पसका प्रमुख चन्द्रकुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राई सहित ५ जनालाई सम्मानित गरिएको छ ।

सम्मानितहरूलाई प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ र निवर्तमान मेयर यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

समापन समारोहमा किरात सभ्यता इतिहास भूगोल र संस्कृतिको आधारमा १ नं प्रदेश नामकरण किरात राज्यको लागि सङ्घर्ष जारी राख्ने उद्घोष गर्दै उभौली साकेला पर्वको समापन भएको घोषणा गरिएको थियो ।

प्रमुख अतिथि मेयर साम्पाङले पूर्व मेयर राईको कुराप्रति कटाक्ष गदै भने ‘सरकारको बजेट पर्खेर हुँदैन, सरकारको बजेट भनेको योजना गर्नु मात्र हो । किराँती मनको धनी छौँ गरिब होइन । करोडौँ रुपैयाँ उठाएर हिमाल भन्दा अग्ला अग्लो सुन्नीमा पारुहाङको प्रतिमुर्ती बनाउँछौँ ।’

यसअघि निर्वतमान मेयर तिलक राईले धरान २० चिण्डेडाँडामा निर्माणाधीन सुन्नीमा पारुहाङको प्रतिमुर्ती पनि  धरान ४ छोटी मोरङको बिग बुद्धकै जस्तो हालत त हुने होइन ? भनी आशङ्का जनाएका थिए ।

उनले धरान सहयोगबाट विकास भएको सहर हो भन्दै  वैदेशिक रोजगारमा गएका धरानेहरु सँग कति पैसा उठाउने ? अव स्थानीय सरकारले प्रदेश, सङ्घीय सरकारबाट बजेट माग गर्दे सुन्निमा पारुहाङको प्रतिमुर्ती बनाउनु पर्नेमा जोड दिएका थिए ।

उनले पर्यटकीय स्थल निर्माण गर्नु राम्रो कुरा हो तर सरकारको बजेटबाट बनाउनु पहल गर्नु उचित हुने मेयर साम्पाङलाई सुझाव दिए । उनले भने ‘किरात प्रदेश नामकरण नभए सम्म किरातीहरुले सङ्घर्ष गर्नु जरुरी छ ।’

धरान-१७ साकेला पार्कमा भएको साकेला उभौलीको समापनमा यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिकाका उपमेयर अईनद्र विक्रम बेघा, यायोक्खा कोशी प्रदेश उपाध्यक्ष बलराम राई, केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई, धरान वडा १० का अध्यक्ष विवेक राई, वडा १८ अध्यक्ष प्रवीण राई लगायत उपस्थित थिए ।

जिल्ला व्यापी प्रतियोगितामा सहभागी मध्ये धरान-१५ प्रथम, धरान-९ र १० को संयुक्त टोली दोस्रो र धरान-११ तेस्रो भएको भएको घोषणा गरिएको थियो ।

धरान बाहिरका प्रतियोगी इटहरी १, १९, २०को संयुक्त टोली प्रथम भएको थियो । इटहरी-पकली-रामधुनी दोस्रो, इटहरी-२ तेस्रो भएको थियो ।

उत्कृष्ट सांस्कृतिक झाँकी सामग्री प्रदर्शनमा धरान-१५ प्रथम, धरान-८ दोस्रो र धरान-९ र १०को टोली तेस्रो घोषित भएका थिए । धरान बाहिरबाट इटहरी-५ को टोली प्रथम, इटहरी ६ दोस्रो र इटहरी २ को टोली तेस्रो घोषित भएका थिए।

sakela-Program-KapriNewssakela-Dance-KapuriNews