धरान : धरान-१२ का उदयमान गायक अनीश राई भ्वाइस अफ धरान-२०८१ को विजेता बनेका छन् ।
विजयपुर एफएमको १६औँ वार्षिक उत्सवको अवसरमा आयोजित भ्वाईस अफ धरान ओपन सिङ्गिङ कम्पिटिसनमा अनीशले विजेताको उपाधि चुमेका हुन।
प्रतियोगितामा फर्स्ट रनरअप धरानका छिरिङ शेर्पा, सेकेण्ड रनरअप वराहक्षेत्रका सुमन राई र थर्ड रनरअप धरानकै एकराज लिम्बु घोषित भएका छन् ।
विजेता बनेसँगै अनीशले २५ हजार नगद पुरस्कार सहित उपहारहरू प्राप्त गरेका छन् । प्रतियोगितामा फर्स्ट रनरअपले १५ हजार सेकेण्डले १० हजार र थर्डले ५ हजार सहित ६ महिनाको सङ्गीत कोर्ष, ट्रफी प्राप्त गरे ।
दर्शकको भोट सहित निर्णायकहरू विजय राई, सम्वत अधिकारी र नवराज कपिल शर्मा सुनुवारबाट विजेताको चयन भएको हो ।
समापन कार्यक्रममा विजेताहरू सबैलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सङ्गीत कोषमा छुट्याईएको केही रकम प्रदान गर्ने घोषणा गरे । उनले धरानमा नयाँ रेकर्डिङे स्टुडियो खोल्न उपमहानगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विजयपुर एफएमको कार्यकारी निर्देशक हिमाल राईले सङ्गीत क्षेत्रमा नयाँ अवसरको खोजी गर्न मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।
धरानमा १६ वर्ष देखि निरन्तर सञ्चालन हुँदै आएको विजयपुर मिडिया ग्रुपद्वारा सञ्चालित विजयपुर एफएम ९८.८ मेगाहर्ज हजार वाट क्षमतामा प्रसारण भइरहेको उनले स्मरण गराउँदै भनिन् ‘धरानको सङ्गीत क्षेत्रमा नयाँ प्रतिभा उजागर गर्न गायन प्रतियोगिताको रूपमा वार्षिक उत्सव मनाउँदै आएका छौँ ।’
भ्वाइस अफ धरानको फाइनलको टप टेनमा १० जना फाईनलिस्टहरुको प्रतिस्पर्धा गरेका थिए । उनीहरूले आफ्नै रचनाको गीत र सङ्गीत प्रस्तुत गरेका थिए ।
यसरी आफ्नै गीत, सङ्गीत सहितको प्रतिस्पर्धा नेपालमै पहिलो रहेको विजयपुर एफएमको बजार व्यवस्थापक प्रमोद पोर्तेलले बताए ।
टपटेनमा विजेता बाहेक नवलपरासीको आरती गौतम, सुमन परियार, निर्दोष रोक्का, नीरज राई, गौरव गुरुङ, टिकाराम राई पुरस्कृत भएका छन् ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, समाजसेवी निश्चल पलिखे, समाचार प्रमुख भैरव आङला, एलिना राई लगायत उपस्थित थिए ।