धरान : नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सत्र किलो भन्ने स्थानमा  तीन वटा बस र एउटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् ।

पहिचान नखुलेका अन्दाजी १६-१७ वर्षका किशोरको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ।

काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुवाहक बस, नारायणगढदेखि मुस्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो।

दुर्घटना आइतबार राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ। बस र ट्रकका गरी २३ जना यात्रु घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको प्रहरीले बताएको छ।