धरान : इरानका राष्ट्रपति इब्राहिम रइसी, विदेश मन्त्री हुसेन आमीर अव्दुल्लाहियनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । 

दुर्घटना आइतबार भएको थियो । राष्ट्रपतिको मृत्युको पुष्टी भने सोमवार दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेष फेला परेपछि मात्र भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा कुल ९ जनाको मृत्यु भएको छ । इरानी मन्त्री परिषद्को अधिकारीक वक्तव्यमा राष्ट्रपतिको निधनमा समवेदना प्रकट गर्दै इरानको शासन व्यवस्था पहिलेकै जस्तो चलिरहने जनाइएको छ ।

दुर्घटना भएका हेलिकप्टरमा इरानका पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमती सहित अन्य अधिकारीहरू पनि सवार थिए ।इरानी अधिकारीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रूपमा जलेर ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यसअघि आइतबार इरानको सरकारी मिडियाले उडानको क्रममा मौसमका कारण हेलिकप्टरले कठिनाइको सामना गर्नु परेपछि ‘हार्ड ल्याण्डिङ’ गराउँदा दुर्घटना भएको बताएको थियो ।

राष्ट्रपति रइसी अजरबैजान स्थित किज कलासी र खोदाफरिन बाध उद्घाटन गरेर तबरेज सहर तिर आउँदा हेलिकप्टर दुर्घटनामा परेको थियो छ ।