इटहरी : इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मात्र हैन नेपाली काँग्रेसलाई समेत नराम्रो झड्का लाग्यो । यस पटक इतिहास रच्ने तयारीका साथ चुनावी अभियानमा लागेको काँग्रेस भारी मतान्तरले पराजित हुन पुग्यो ।

सामाजिक सञ्जाललाई भरपुर उपयोग गरिरहेको काँग्रेसले मतलाई सोही अनुसार आफ्नो पक्षमा पार्न सकेन । महामन्त्री विश्वप्रकाश शर्माको कमाण्डमा परिचालित चुनावी अभियानले सार्थक परिणाम निकाल्न नसकेपछि काँग्रेस गम्भीर समीक्षाको अवस्थामा पुगेको छ ।

ह्वाट्स्एप लगायत विभिन्न ग्रुप बनाएर कार्यकर्तालाई निर्देशन दिइरहेका महामन्त्रीको रणनीतिले मतदाता सम्म प्रभाव पार्न सकेन । फेसबुकमा पोष्ट सेयर गर्ने समय तालिका समेत मिलाएका उनी जनताको मनोभाव बुझ्ने काममा चुकेको परिणामले देखाइसकेको छ।

जोगीन्दर पानवालाको हाजिरी जवाफको परम्परागत शैलीले र ‘इलम इलाम’ को चुनावी घोषणापत्र समेत मतदाताको सोच परिवर्तनको लागि प्रभावकारी देखिएन । केन्द्रीय स्तरका नेताहरूको भिडभाडमा रचिएको चुनावी प्रचारले सार्थक परिणाम नआएपछि काँग्रेस नेताहरूले अहिलेसम्म धारणा सार्वजनिक गर्न सकेका छैनन् ।

२०७९ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ सँग जम्मा ११४ मतान्तरले पराजित भएका काँग्रेस उम्मेदवार डम्बर खड्का यस पटक उनका छोरा सुहाङ नेम्वाङ सँग ५ हजार ८३० मतान्तरले पराजित भए । पहिला २९ हजार ९०६ मत ल्याएका खड्काले यस पटक २१ हजार ९४२ मत पाए । अर्थात् पहिलाभन्दा ८ हजार कम । तुलनात्मक रूपमा कम मत उनको मात्र हैन एमालेका सुहाङको पनि छ । बाबु नेम्वाङले ३० हजार २० मत ल्याएको क्षेत्रमा छोरा नेम्वाङले जम्मा २७ हजार ७७२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भए ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ६६ हजार १८५ मत सदर रहेकोमा यस पटक त्यो भन्दा बढी ६८ हजार ४७२ सदर मत खस्यो । तर पनि पहिचानको पक्षमा देखिएको मतभार र रास्वपाले बढाएको मतले काँग्रेस एमाले दुवै दललाई प्रभाव पा¥यो । 

काँग्रेसका खड्का भारी मतका साथ पराजित हुँदै गर्दा पहिचानवादी स्वतन्त्र उम्मेदवारले भने सम्मानजनक मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम (लिम्बु) ले ११ हजार ४५७ मत पाए । गृहमन्त्री रवि लामिछानेको पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बुले जमानत जोगाउन सकेनन् । उनले जम्मा जम्मा ५ हजार ५० मात्रै मत पाए ।

इलाम सँगै भौगोलिक रूपमा मात्र नभई राजनीतिक र सामाजिक रूपमा जोडिएको झापालाई नेकपा एमालेले राम्रोसँग उपयोग गर्यो । चुनावी रणनीति कमजोर बनाएको काँग्रेसले भने समानुपातिकमा पाएको जति मत पनि जोगाएन । यसअघि समानुपातिकमा २२ हजार ३३३ मत पाएको काँग्रेस जम्मा २१ हजार ९४२ मतमा खुम्चियो । 

पहिचानवादी कार्यकर्तालाई समेट्न काँग्रेस वरिष्ठ नेता डाक्टर शेखर कोइराला बारम्बार इलाम पुगे । डा. कोइरालाले यसअघि उनै स्वतन्त्र उम्मेदवार थेगिम सँग पहिचानको मुद्दालाई सघाउने गरी संवाद गरेका थिए । तर पनि थेगिमले उम्मेदवारी दिए । इलामको चुनावी सभालाई सम्बोधन गर्दै डा. कोइरालाले बारम्बार काँग्रेस पहिचानकै पक्षमा भएको विश्वास दिलाउन खोजे पनि त्यसले खास परिणाम निकाल्न सकेन । उनले उम्मेदवार खड्कालाई जिताएर पठाउन आग्रह गर्दै काँग्रेस एक ढिक्का भएको सङ्केत गरे ।   

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पहिचानको पक्षमा काँग्रेस रहेको चर्को स्वरमा सुनाए । एमाले उम्मेदवार नेम्वाङलाई राजतन्त्रको शैली अपनाएको आरोप लगाए पनि जनताले पत्याएनन् । मत उनै नेम्वाङलाई दिए । 

nepali-congress-ilamइलामको चुनावी अभियानलाई नियालेर फर्किएका एक काँग्रेस नेता अन्तर्घात हुँदै भएन भन्ने अवस्था नरहेको बताउँछन् । पालिका र प्रदेशमा धेरै मतान्तरले जित्न सक्ने तर डम्बर खड्काको पक्षमा त्यसको आधा मात्र मत आउने कुराले राम्रो सङ्केत नगरेको उनको भनाइ छ । केन्द्रको नेतृत्वले बल गर्दा खासै प्रभाव नदेखिने प्रष्ट हुँदै गर्दा पनि स्थानीय नेताहरूको परिचालनमा समस्या देखिएको उनले बताए । 

पूर्व जिल्ला सभापति हिमालय कर्माचार्य भने एमालेको प्रभावशाली क्षेत्रमा वाम गठबन्धन भएको कारणले परिणाम आफ्नो पक्षमा नआएको बताउँछन् । सुवासचन्द्र नेम्वाङको शालीन व्यक्तित्व र उनकै छोराको उम्मेदवारीले सहानुभती मत गएको उनको बुझाइ छ । काँग्रेसको मत पहिचानवादीको पक्षमा गएको कारण यो अवस्था आएको बताउँदै उनले आन्तरिक द्धन्दले चुनाव हारेको भन्न नमिल्ने प्रष्ट पारे । 

काँग्रेस कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख बासु कोइराला अपेक्षा अनुसार मत नआएको स्वीकार गर्छन् । सङ्गठनलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको बताउँदै शक्ति र सक्ताको प्रभाव निर्वाचनमा परेको उनले बताए । पार्टी भित्रको असन्तुष्टिले समेत काम गरेको सङ्केत गर्दै उनले काँग्रेसको नीति कार्यक्रम देखी सङ्गठनलाई थप बजबुद बनाएर लैजानुपर्ने प्रतिक्रिया दिए । 

यसअघि गठबन्धन भएको कारण काँग्रेसको मत बढी आएको स्थानीय नेताहरूको भनाइ छ । खड्काले पहिला चुनावमा पराजित भएपछि स्थानीय नेता कार्यकर्तालाई गालीगलौज गरेको कारण यो अवस्था आएको उनीहरू बताउँछन् । 

पहिचानवादी उम्मेदवारले काँग्रेसको मत काटेको बताउने स्थानीय एक कार्यकर्ता एमालेले आफ्नो मत सुरक्षित गर्न सकेको बताउँछन् । नेताहरूको भाषण धेरै भएको तर जनतासँग संवाद नभएको कारण चुनावी अभियान काँग्रेसको आन्तरिक अधिवेशन जस्तो देखिएको टिप्पणी हुने गरेको छ । 

प्राध्यापक कृष्ण पोखरेल काँग्रेसको लागि पराजय सामान्य कुरा भए पनि नयाँ दलको लागि खतराको घण्टी बजेको बताउँछन् । कम समयमा पहिचानवादीले सम्मानजनक मत पाएको बताउँदै उनले पहिचानको मुद्दालाई कसैले नजरअन्दाज गर्न नमिल्ने टिप्पणी गरे। 

काँग्रेसले यसअघिको समानुपातिक भन्दा कम मत ल्याएको विषयमा पोखरेल भन्छन्, ‘यो निर्वाचन परिणामले यसअघि काँग्रेस गठबन्धनको बलले पहिलो दल बनेको प्रष्ट भयो । कम्युनिस्ट कार्यकर्तामा चेन अफ कमाण्ड हुन्छ । कार्यकर्ताहरू नेतृत्वको निर्देशन अनुसार चल्छन् । तर काँग्रेसका मतदाता त्यस्ता नहुने हुँदा मत फेरिनु स्वाभाविक हो । काँग्रेसका मतदाताको चरित्र नै यस्तै खालको हुन्छ ।’

प्राध्यापक पोखरेलको भनाइको पुष्टि निर्वाचन परिणामले गरेको छ । यसअघि माओवादीले समानुपातिकमा पाएको  ५ हजार १५३ मत यस पटक पहिचानवादीमा कम एमालेमा बढी गएको देखिन्छ । एकल प्रतिस्पर्धामा उत्रिएको काँग्रेसले गठबन्धनलाई टक्कर दिए पनि परिणाम हात पार्न मात्र नसकेको हैन आफ्नो मत जोगाउन समेत सकेन । 

पहिचान विरोधी आरोप लाग्दै आएको एमालेले पनि यसअघि भन्दा कम मत पायो तथापि परिणाम हात पार्न सफल भयो । काँग्रेसले आफ्नै मत जोगाउन नसक्ने अवस्थामा चुनावी तालमेल बिनाको प्रतिस्पर्धाले नराम्रो परिणामको सामना गर्नुपर्‍यो । महासमिति बैठकबाट गठबन्धन नगर्ने निर्णयलाई यस उपनिर्वाचनको परिणामले सोच्न बाध्य बनाएको छ ।