इटहरी : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ । मुख्य प्रतिस्पर्धीका दल मानिएको रास्वपाले चुनावी प्रचार निक्कै आक्रामक रूपमा अगाडी बढाए पनि परिणाममा असफल भएको छ ।

केन्द्रीय स्तरका नेताहरूको उपस्थितिमा चुनावी अभियान सुरु गरेको रास्वपालाई इलाम २ को मत परिणामले झस्काएको छ । २०७९ मा खुलेको पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६ र समानुपातिक १५ गरी २१ स्थान सुरक्षित गरेको छ ।

२०८० वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा सभापति रवि लामिछानेको विजयी पछि रास्वपा हौसिएको थियो । इलाममा पनि तनहुँ र चितवनकै इतिहास दोहोर्‍याउने महत्त्वाकाङ्क्षा बोकेको रास्वपालाई परिणामले झड्का लागेको छ । जमानत समेत जोगाउन नसक्ने गरी आएको मत परिणामले रास्वपाका नेता कार्यकर्ता निराश भएका छन् ।

सोमबार सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।  इलामले पहिचानवादीको पक्षमा सम्मानजनक मत दिएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् । गृहमन्त्री रवि लामिछानेको पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बुले भने जम्मा ५ हजार ५० मात्रै मत पाए ।

प्रतिनिधि सभाका उम्मेदवारले जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ३७४ मत खसेको थियो । त्यसमध्ये ६८ हजार ४७२ मत सदर र ९०२ मत बदर भएको थियो । २०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाको पक्षमा १ हजार ३८० मत र समानुपातिक तर्फ रास्वपाले ४ हजार ६४६ मत पाएको थियो ।