इटहरी : गत फाल्गुन १७ गते इलाम बजारमा पहिचानवादीहरूले कोशी प्रदेश नाम परिवर्तनको विरोधमा प्रदर्शन गरे । अत्यन्तै न्यून उपस्थितिमा भएको आन्दोलनमा पहिचानको पक्षमा लाग्न आह्वान गरिएको थियो । इलाम बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको र्‍यालीमा पहिचानवादी नेताहरूले भाषण गरे । कोशीको नाम परिवर्तन नभए आन्दोलन चर्काउने भाषण भइरहँदा र्‍यालीमा सहभागीहरूमा कुनै ऊर्जा र जोस थिएन । बाध्यताले आए जस्तो देखिएका उनीहरू कार्यक्रम चाँडो सक्नुपर्ने हतारोमा थिए ।

अहिले प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिम (लिम्बु) इलाम २ को उपनिर्वाचनमा उम्मेदवार भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले पहिचानको पक्षमा मत मागिरहेका छन् । 

जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत अन्य पहिचानवादी दलहरूले उनलाई समर्थन गरेका छन् । कोशी प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलन चर्काएका थेगिमले जनतामाझ आफ्नो मुद्दा पुर्‍याउने अवसर पाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले समेत उनलाई समर्थन गरेका छन् । 

पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राखेका उनको पक्षमा इलाम २ को मतदान जाने सम्भावना तत्काल देखिँदैन । दलीय प्रतिष्ठाको विषय सँग जोडिएको इलाम २ मा पहिचानवादीको पक्षमा भन्दा दलीय प्रतिष्ठा बचाउन धेरैले ध्यान दिएका छन् । पहिचानवादी सँग असन्तुष्ट जनमत आकर्षित गर्ने गरी रास्वपाले गरेको प्रचारले मत परिणाम फरक पार्ने आङ्कलन गरिएको छ । 

यसअघिकै मतदाता नामावलीलाई आधार बनाएर हुने निर्वाचनमा पहिचान पक्षधरको मेहनतले केही मत थपे पनि परिणाम आफ्नो पक्षमा पार्न भने सकसपूर्ण देखिन्छ । यसअघिका दुई स्वतन्त्र उम्मेदवारहरू जुनु बोखीमले १९ र दीपेश बोहराले ९१ मत प्राप्त गरेका थिए । त्यस्तै पहिचानवादी दलहरूका उम्मेदवारहरूले समेत सम्मानजनक मत पाएनन् । 

जनता समाजवादी पार्टीले समानुपातिकमा ९०६ मत प्राप्त गर्दा सोही पार्टीका उम्मेदवार याम प्रसाद लिम्बुले ७२४ मत पाएका थिए भने लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकमा ९९ र प्रत्यक्षमा ६९ मत प्राप्त गरेको थियो । पहिचानको आन्दोलन चर्काउँदै आएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकमा ११२९ र प्रत्यक्षमा ६८४ प्राप्त गरेको थियो । जुन इलामको मत परिणाम प्रभावित पार्नको लागि पर्याप्त छैन । 

पहिचानको आन्दोलन उत्कर्षमा रहेको बेला भएको निर्वाचनमा समेत पहिचानवादी दलहरूको पक्षमा मत नदिएको इलाम २ ले यस पटक पनि चमत्कार गर्ने देखिँदैन । समुदाय बिचको टकराबले साझा नाम दिन नसकेका पहिचान पक्षधरहरू कोशी सरकार सँगको  नियमित संवादमा छन् । वार्ता समितिका सदस्य समेत रहेका थेगिम घाइतेको उपचार र मुद्दा फिर्ता लिने कामलाई उपलब्धि मान्दै आएका छन् । जसले गर्दा पुनः नामकरणको मुद्दा ओझेलमा परेको छ । 

यस पटक इलामको निर्वाचनले पहिचानवादीको परीक्षा लिने भएको छ । पहिचानको पक्षमा आन्दोलन चर्काइरहेका थेगिम सहित पहिचानवादी दलहरूलाई इलाम २ को मत परिणामले नयाँ अध्यायको बाटो खोलिदिने प्रस्ट छ । 

ठुला दललाई ठुलै सकस 

नेकपा एमालेका सांसद तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यसअघि दुई पक्षीय प्रतिस्पर्धा देखिएको इलाम २ यस पटक रास्वपा पनि प्रतिस्पर्धामा छ । 

अघिल्लो निर्वाचनमा खासै चर्चा नपाएको रास्वपा चितवन र तनहुँको उपनिर्वाचनमा विजयी भएपछि हौसिएको छ । वर्तमान सत्तारुढ दल रास्वपाले इलाम २ लाई ठुला दलहरू प्रति चुनौती दिनेगरि प्रतिष्ठाको विषय बनाएको छ ।   

नेपाली काँग्रेसले एकल रूपमा डम्बर बहादुर खड्का उम्मेदवार बनाएको छ । यसअघि नेम्वाङ सँग ११४ मतान्तरले पराजित खड्काले यस पटक जित्ने गरी तयारीमा छन् । नेकपा माओवादी सहितको गठबन्धनबाट उम्मेदवार रहेका खड्काले २९९०६ मत ल्याउँदा एमालेका उम्मेदवार नेम्वाङले ३००२० मत पाएका थिए । 

यस पटक माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ । सोही निर्वाचनमा माओवादीले समानुपातिकमा ५१५३ मत पाएको थियो । त्यसबेला माओवादी निर्णायक जस्तो देखिएको निर्वाचनमा यस पटक रास्वपाको आक्रामक प्रचारले काँग्रेस एमालेलाई अप्ठ्यारो पार्ने देखिन्छ ।  

गत निर्वाचनमा राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत इलाममा बलियो उपस्थिति देखाएको छ । समानुपातिकमा ४६८६ र प्रत्यक्षमा १३८० मत पाएको रास्वपा अहिले विजयी हुनेगरि तयारीमा छ । नेपाली काँग्रेस र नेकपा एमालेको असन्तुष्ट मत बटुलेर विजयी हुने दाउमा छन् रास्वपा उम्मेदवार मिलन लिम्बु । 

पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा र एमालेलाई माओवादीको साथले काँग्रेस उम्मेदवारलाई सकस पर्ने देखिएको छ । निर्वाचन परिणाम पछि काँग्रेस कार्यकर्तालाई गाली गरेका खड्काले यस पटक आन्तरिक कलहको सिकार बन्ने देखिन्छ । सभापति शेरबहादुर देउवा निकट खड्का महामन्त्री गगन थापा र नेता शेखर कोइराला प्रति असहिष्णु देखिन्छन् ।

खड्का इलाम पार्टी सभापति भएपनि कार्यकर्तामाझ थापा र कोइराला पक्षकै बलियो पकड छ । तर जातीय आधारमा मतदान हुने अवस्था आए अन्य दल र स्वतन्त्र उम्मेदवारहरू एउटै समुदायको भएको कारण काँग्रेसका खस आर्य उम्मेदवारले जित्न सक्ने आंकलन पनि गरिएको छ ।

उता सुवास नेम्वाङको विरासत लिएर सुहाङले गरेको प्रचारले काँग्रेसलाई झस्काएको छ । सहानुभूति मत लिनेगरि सुहाङले गरेको भद्र र कुटिल प्रचारको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने एमालेको रणनीति छ । जसमा माओवादी केन्द्रले खुलेरै समर्थन गरेको छ । 

काँग्रेस, एमाले, रास्वपा सहित जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेशनल रिपब्लिक पार्टीबाट धनराज राना मगर, नेपाली जनता दलबाट रेसमबहादुर सुनार, राप्रपाबाट लक्ष्मी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका छन् । 

अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, केशवबहादुर थापा, दिनेश बोहोरा, मनोज निरौला, योगचन्द्र गुरुङ, राज बस्यालले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्  ।