सुनसरी : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुक्रवारदेखि कर्णाली प्रदेशको सुर्खेतमा हुने राष्ट्रिय महिला लीग छनौट प्रतियोगितामा सहभागी कोशी प्रदेशको टिमलाई बिदाइ गरिएको छ ।

गत आइतबार बागमती प्रदेशको चितवनमा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कोशी प्रदेश महिला फुटबल टिमलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरी सुर्खेतको लागि बिदाइ गरिएको हो ।

झापाकी खुष्मा राईको कप्तानीमा रहेको टिमलाई कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, उपाध्यक्ष शिव न्यौपाने लगायतले जीतको शुभकामना सहित बिदाइ गरे ।

कोशी प्रदेश फुटबलको लागि उर्वर भूमि रहेकाले यसलाई कायम राख्न पनि जीतको विकल्प नभएको एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेको अध्यक्ष राईले बताए ।

एन्फाको वर्तमान कार्यसमितिमा अध्यक्ष, महासचिव लगायत अधिकांश कार्यसमितिका पदाधिकारी कोशी प्रदेशकै रहेकाले उच्च मनोबलका साथ खेल्न राईले आग्रह गरे ।

चितवनको भरतपुरमा सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण विजेता टिममा तीन खेलाडी परिवर्तन गर्दै सुर्खेत पठाइएको टिम मेनेजर केशव कार्कीले बताए ।

विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाउने राष्ट्रिय लीग छनौटमा कोशी प्रदेशले उद्घाटनकै दिन हुने दोस्रो खेलमा कर्णाली प्रदेशको सामना गर्नेछ । त्यसअघि सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ ।

कोशी टिमले वैशाख १० मा सुदूरपश्चिम, वैशाख १४ मा लुम्बिनी, १६ गते मधेस र १९ गते बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सिङ्गल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् ।

वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

koshi-football-team-bidai