धरान : धरान रङ्गशालामा हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा यो साता एकै साथ २ वटा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । एकै साथ सुरु हुने दुवै प्रतियोगिताको यसपालि तेस्रो संस्करण हो ।

सुवास राई स्मृति अन्तर वडा सुपर-८ फुटबल प्रतियोगिताको तेस्रो संस्करण पर्सी वैशाख ७ गते देखी सुरु हुने भएको छ ।

लगत्तै वैशाख १० गते देखी तेस्रो हाम्रो धरान भेट्रान फुटबल कप प्रतियोगिता पनि धरान रङ्गशालामा सुरु हुँदै छ ।

दुवै फुटबल प्रतियोगिताको आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबद्वारा आज बुधवार बिहान पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । 

क्लबका सदस्य तथा सुपर-८ प्रतियोगीताका संयोजक हेमकुमार गुरुङले बजेटको सीसिमताका कारण ग्राउन्डको व्यवस्थापनमा दोहोरो खर्च बचाउन दुवै प्रतियोगिता बिहान र दिउँसो समय मिलाएर एकै साथ सञ्चालन गर्ने निर्णय बताए ।

क्लबका अध्यक्ष अशोक राईले भने, ‘हाम्रो धरान भेट्रान फुटबल क्लबले प्रतियोगिता मात्र आयोजना गर्ने नभई नयाँ पुस्ताका लागि धरानमा भएका फुटबलका पूर्वाधारहरूको रूपमा रहेका ग्राउन्डहरूको सुधार र संरक्षणमा पनि स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।’

धरानको खेलकुदमा महत्त्वपूर्ण योगदान पुराएका स्वर्गीय सुवास राईको स्मृतिमा अन्तर वडा सुपर-८ फुटबल आयोजना गरिँदै आएको छ । वैशाख ७ मा सुरु हुने प्रतियोगिता २३ गते सम्म चल्नेछ ।

प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग अन्य वडाको कुल १५ खेल लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् । अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच नकआउटको आधारमा २ सेमिफाइनल खेल हुनेछ ।

क्लबका सचिव उमेश कुमार जिमीले सुपर-८ प्रतियोगिता बुढासुब्बा गोल्डकपमा धरानको उत्कृष्ट टिम निकाल्न आयोजना गर्न थालिएको बताउँदै भने, ‘तर गोल्डकपको क्यालेन्डर र तयारी अनियमित हुने गरेकाले प्रतियोगिताको आयोजना तलमाथि पर्ने गरेको छ ।’

सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ सय पुरस्कार पाउने छ । उपविजेता टिमलाई १ लाख ५५५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

वैशाख १० देखी सुरु हुने तेस्रो हाम्रो धरान भेट्रान कप फुटबल प्रतियोगितामा १२ टिम बिच प्रतिस्पर्धा हुने टाई सिट पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

उद्घाटन खेल मिल्स भेट्रान र दुहबी भेट्रान बिच हुनेछ । प्रतियोगितामा समूह क मा दुधे भेट्रान, लखनपुर भेट्रान, उर्लाबारी भेट्रान, धरान भेट्रान फुटबल बिच प्रतिस्पर्धा हुनेछ ।

समूह ख मा मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजरानी भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान बिच प्रतिस्पर्धा हुनेछ । हाम्रो भेट्रान कपको दोस्रो संस्करणको विजेता हाम्रो इटहरी भेट्रान रहेको थियो ।

भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरू साथै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद पुरस्कार प्रदान गरिने छ ।