वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना कोशी प्रदेशको फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी  घोषित भएका छन् ।

विभागीय मूल्य-मान्यता आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले फागुन महिनामा उत्कृष्ट कार्य गरेका थिए ।

उनले प्रदेश  ०१-०२-००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको, को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जी. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको, सप्तकोसीको बाढी नियन्त्रण गर्न लगाइएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर थान ५२ चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेको, बहु-विवाह मुद्दामा फरार जिल्ला सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं. ०८ बस्ने २ जना प्रतिवादी पक्राउ गरेको, जिल्ला सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं.०५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, नगद रुपैयाँ सहित ५ जना मानिसहरू नियन्त्रणमा लिएको, सम्मानित अदालतहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तहरू सात जनालाई नियन्त्रणमा लिनुका साथै विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनालाई प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।