धरान : लोकप्रिय गायक स्वप्न सुमन आज धरान आउने भएका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी धरान एक्सपोमा आज बेलुका ६ बजेपछि गायक स्वप्न सुमनले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

स्वप्न सुमनको ‘कसरी भनूँ’, ‘जे छौ तिमी ’, ‘झरी’ लगायतका गीत चर्चित छन् । धरानमा उनको फ्यान धेरै छन् । उनको प्रस्तुति हेर्नका लागि  धरानका दर्शक प्रतीक्षारत रहेको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा उनीसँगै स्थानीय कलाकारहरूले पनि आफ्ना कला प्रस्तुत गर्नेछन् ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।