इटहरी : जमाना अनलाइनको छ । बैङ्किङ कारोबार अनलाइनबाट हुन थालेको बेला सरकारी अड्डाहरूलाई पेपरलेस बनाउने काम भने भइरहेको छैन । तिन तहको सरकार मध्ये स्थानिय सरकार त्यस मध्ये इटहरी उपमहानगरपालिकाले फड्को मारेको छ ।

इटहरीमा घर बनाउनेहरूलाई अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र उपमहानगरपालिकाले ‘सेण्ड’ गर्न थालेपछि कार्यालय धाएर आफै फाइल कोठाकोठा चहार्ने बाध्यताको अन्त्य भएको छ ।

पोहोर सम्म इजाजत पत्र लिन फाँटमा भिडभाड, लाइन बस्नुपर्ने, फाइल हराउने, फाइल तल माथि हुँदा झगडा समेत हुन्थ्यो । कर्मचारीसँग भनाभन र भिड हुँदा नाराबाजी हुन्थ्यो । कर्मचारीले व्यहोर्ने सास्ती उनीहरूकै कुरा ।

मेयर हेमकर्ण पौडेलले भने, ‘ठुलो प्राविधिक चुनौतीलाई समाधान गर्दै घर नक्सालाई व्यवस्थित गर्न अनलाइन प्रणालीमा लैजान सफल भएका छौँ ।’ नेपालमै पहिलो पटक इटहरीले नमुना काम सुरु गरेको उनको दाबी छ । उनले भने, ‘यो अन्त कतै छैन, हामीले सुरु गरेका छौँ ।’

पछिल्लो ९ महिना यता अनलाइनबाट  इजाजत दिइन थालिएपछि कर्मचारीलाई पनि सहज भएको छ । उपमहानगरपालिकाले गएको वैशाख महिना देखी घर नक्सा बनाउन अनलाइन प्रणाली सुरु गरेको हो ।

अनलाइन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाइन प्रणाली राम्रोसँग सञ्चालन भइरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको उनको भनाई छ ।

छिमेकी साँध सँधियारको असहयोग वा चार किल्लाको कामपछि सिस्टममा अपलोड भएको फाइलको काम १५ देखी २० दिन भित्र सकिने इन्जिनियर तिम्सिनाले बताए । जग्गामा कुनै कानुनी समस्या भए त्यसको व्यवस्थापन, नाप जाँच गर्दा भने केही समय लाग्न सक्छ ।

पुराना फाइल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धित घरधनीलाई दिने गरिएको छ । अनलाइन प्रणाली सुरु भएको वैशाख देखी पुस सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिइसकेका छन् ।

प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको सङ्ख्या २३७ छ । त्यो भन्दा माथिको इजाजत पत्र लिने घर धनीको सङ्ख्या २४३ छ । यस बिच ४०६ घरको अभिलेखीकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जनाएको छ ।

इटहरी-८ मा घर बनाउँदै गरेका रविन लम्सालले अनलाइन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए । उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दैछन् । उनको घर नक्सा उपमहानगरपालिकाले निःशुल्क बनाई दिएको हो ।

घर नक्सा निर्माण शाखाले १ हजार स्क्वार फिट भन्दा कमका घरको निःशुल्क नक्सा बनाई दिने गरेको छ । उपमहानगरपालिकाले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाई दिने सेवा सुरु गरेको हो । यसमा पनि इटहरी उपमहानगर पहिलो हो ।

घर नक्साका लागि उपमहानगरपालिकामा १ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर, ४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिन सहितको प्राविधिक टोली छन् । १५ सय स्वायर फिट भन्दा माथिको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ ।

अहिले दैनिक रूपमा ३ देखी ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घर नक्सा निर्माण शाखाका प्रमुख आर्किटेक इन्जिनियर अरुण घिमिरेले बताए । साउन देखी पुस २६ सम्मको तथ्याङ्क अनुसार २१४ जनाले घर नक्साका लागि निवेदन दिएका छन् ।

उपमहानगरपालिकाले सुरु गरेको अनलाइन सिस्टम राम्रो भएपनि अझै सुधार गर्दै जानुपर्ने निजी क्षेत्रबाट घर नक्साको काम गर्दै आएको इन्जिनियरिङ कन्सल्टेन्ट सोसाइटी इटहरीका अध्यक्ष उमेश तुम्बाहाङको भनाई छ ।

नक्सा डिजाइन गर्ने दक्ष कर्मचारी पर्याप्त नभएको र एक जना मात्रै स्ट्रक्चर एनालाईसिस गर्ने इन्जिनियरबाट काम गराउन खोज्दा सेवा प्रभावकारी हुन नसकेको उनले बताए । उनका अनुसार नगरवासीलाई राहत दिने हो भने राजश्व कम गर्नुपर्छ । घर निर्माणमा राजश्व धेरै बढेको उनले बताए ।

मेयर पौडेलले भने, ‘इटहरीमा घर बनाउनेहरूलाई चुस्त सेवा चाहिएको छ, त्यसैले गुनासो आएको छैन ।’ उनले इटहरी सहर सबै ढङ्गबाट सुरक्षित छ, यहाँ घर बनाउनेको चाप धेरै छ, त्यसमा अझ निःशुल्क सेवाले चाप बढेको छ । उनले अब अपुग दक्ष कर्मचारी थप गरेर घर नक्सा शाखालाई व्यवस्थित गर्ने बताए ।