इटहरी : इटहरी उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै अनलाइनबाटै घर नक्सा बनाउने र पास गर्ने प्रणाली सुरुवात गरेको छ । ‘पेपरलेस गभरमेन्ट’ को अवधारणा अनुसार घर-नक्सा बनाउने सम्पूर्ण काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।

घर नक्सा बनाउने प्रक्रिया झन्झटिलो भएको अधिकांश सेवाग्राहीको गुनासो आएपछि प्रविधिमैत्री कार्यक्रम ल्याइएको मेयर हेमकर्ण पौडेलले बताए । नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको उनको भनाई छ ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने उनले प्रस्ट पारे ।  उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

बिहीबार एक कार्यक्रमका बिच अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई मेयर पौडेलले सम्मान गरेका छन् । आगामी दिनमा घर नक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने घर नक्सा शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनाले बताए ।

इन्जिनियर तिम्सिनाका अनुसार इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ई-भीपीएस) को कम्प्युटर सफ्टवेयर मार्फत सम्पूर्ण काम हुने भएको छ । इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको आइडी अनुसार काम अगाडी बढ्ने उनले सुनाए ।

यसअघि धरान र काठमाण्डौमा यस प्रणालीको सुरुवात भइसकेको छ ।

Itahari ghar naksa