धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले एन्फामा पछिल्लो समय अस्वस्थ राजनीति देखिएको बताएका छन् । उनले भने ‘त्यसबाट उत्पन्न समस्या समाधानका लागि कार्यसमितिमा छलफल भइरहेको छ ।’
एन्फा कार्यसमिति विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनु राम्रो काम गर्न खोज्दा त्यसलाई अवरोध गर्ने केही साथीहरूले गलत नजिर बसाएको अध्यक्ष पङ्कज नेम्बाङले बताए । धरानमा बुधवारदेखि सुरु भएको रेफ्री कोर्षको उद्घाटन कार्यक्रममा उनले भने ‘राम्रो काम गर्न खोज्दा केही साथीहरूले गलत नजिर बसाएका छन् ।’
एन्फा अध्यक्ष र महासचिव हटाउन माग गर्दै ४९ पदाधिकारीले प्रस्ताव दर्ता गराएपछि अध्यक्ष नेम्वाङले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन । उनले कमीकमजोरी सुधार्दै अघि बढेको अवस्थामा अस्वस्थ प्रतिस्पर्धा गरेर नेपाली फुटबलको भविष्य बिगार्न नहुने बताए ।
अध्यक्ष नेम्वाङले भने ‘नेपाली फुटबलमा अहिले देखिएको असमझदारी चाडै अन्त्य हुन्छ ।’ अध्यक्ष र महासचिव विरुद्ध बहुमत पदाधिकारीले दर्ता गराएको प्रस्तावले गलत नजिर बसेको भन्दै उक्त प्रस्ताव अनुशासन कमिटीमा पठाइएको उनले जानकारी दिए।
एन्फामा पारदर्शी ढङ्गमा काम भइरहेकोले यो घट्नाबाट नेपाली फुटबललाई अन्यायमा पर्ने कार्य नहुने उनले बताए । उनले भने ‘फुटबलको विकास हेर्न नचाहने समूहले नेपाली फुटबललाई अझै अन्धकार तर्फ धकेल्न खोजेका छन् ।’
उत्पन्न विवादलाई वार्ता र संवाद मार्फत समाधान गर्न आफू तयार रहेको बताउँदै उनले नेपाली फुटबलको विकास गर्नुपर्ने बेलामा विभाजित हुन नहुने स्पष्ट गरे ।
अध्यक्ष नेम्वाङले अघिल्लो कार्यसमितिको पालामा भएको बेरुजु तिर्दातिर्दै पहिलो वर्ष सकिएको बताउँदै भने ‘बाँकी ३ वर्षमा पनि धेरै कार्यक्रम गर्न सकिन्छ भन्ने हाम्रो अठोट छ ।’ कार्यक्रममा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले वार्ता र संवाद मार्फत समाधान गर्न आग्रह गरे । उपाध्यक्ष दीपककुमार खतिवडा लगायतले राम्रो गर्न खोज्दा खोज्दै पनि फुटबल बिथोल्न केही समूह लागि परेको आरोप लगाए ।
एन्फा कोसी प्रदेशको आयोजना सुरु चौथो श्रेणीको रेफ्री कोर्ष एक साता सम्म चल्ने बताइएको छ । रेफ्री कोर्समा एन्फामा आबद्ध कोसी प्रदेशका ११ जिल्लाका ५१ जना प्रशिक्षार्थी सहभागी रहेको प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए । उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, डा. शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गर्ने छन् ।


































































