धरान : विश्व फुटबल संघ फिफाले लागु गरेको नयाँ नीति तथा कार्यक्रमले अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध जिल्ला फुटबल संघका सबै गतिविधिहरू सिधै फिफासँग जोडिने भएका छन् । फुटबलका स्थानिय क्लब र खेलाडीहरूको सबै गतिविधि फिफाको निगरानीमा रहने छन् ।

‘फिफा कनेक्ट वक्र्ससप’ विषयक कार्यशालामा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले भने ‘अब जिल्ला फुटबल सङ्घहरू सिधै फिफासँग जोडिने भएका छन्, यसले भविष्यमा फिफाले सिधै जिल्ला फुटबल सङ्घलाई प्रोजेक्टहरू दिने अवस्थामा पनि ल्याउँछ ।’

अखिल नेपाल फुटबल संघ एन्फाले फिफाको नयाँ नीति तथा कार्यक्रम ‘फिफा कनेक्ट’ कार्यान्वयन गर्न सातै प्रदेशमा प्रशिक्षणमूलक कार्यशाला आयोजना गर्न सुरु गरेको छ । कोशी प्रदेशमा पहिलो पटक मङ्गलवार धरान-१७ स्थित एन्फा एकेडेमीमा कार्यशाला भएको हो ।

कार्यशालाको उद्घाटन सत्रमा एन्फा सहायक महासचिव वसन्त अर्यालले फिफाको कनेक्ट फिफा कार्यक्रमले नेपाली फुटबलको गतिविधिलाई विश्वव्यापी जानकारीमा पुराउने बताए । नेपाली फुटबल सम्बन्धी तथ्याङ्क अहिले एन्फाले पनि तत्काल दिन नसक्ने अवस्था छ । कनेक्ट एन्फा पूर्ण रूपमा लागु भएपछि सबै गतिविधि तत्कालै फिफा सम्म पुग्ने उनले बताए ।

कोशी फुटबल संघका अध्यक्ष किशोर राईले फिफा कनेक्टले नेपालको कुनै ठाउँमा भइरहेको फुटबल खेलको जानकारी तत्कालै फिफासम्म पुराउने बताउँदै जिल्ला फुटबलको गतिविधि, स्थानिय खेलाडीहरूको विवरण फिफामा राखिने भएकाले फुटबलका नेपालको फुटबलको विकासमा फिफाको प्रत्यक्ष निगरानी रहने उल्लेख गरे ।

उनले भने ‘एन्फा कनेक्टबाट फिफाले प्रत्येक खेलाडीको जानकारी राख्ने भएकाले खेलाडीको वृत्ति विकास र उनीहरूलाई मर्यादित बनाउन सघाउ पुराउने छ ।’ साथै फुटबल क्लबहरूलाई आत्मनिर्भरताका लागि ‘बिजनेस’ सिर्जना गर्न अभिप्रेरित गर्ने बताउँदै उनले नेपाली फुटबललाई व्यवसायीक रूपमा विकास गर्न एन्फा कनेक्ट नयाँ सम्भावनाहरूको ढोका खुल्ला गर्ने विश्वास व्यक्त गरे ।

एन्फाका फिफा फरवर्ड मेनेजर गोकुल थापाले ‘कनेक्ट फिफा’मा एन्फा आबद्ध सबै जिल्ला फुटबल सङ्घहरू जोडिने छन् । जिल्ला सङ्घहरूलाई जिल्लाका फुटबल क्लबहरू, क्लबका गतिविधिहरू, क्लबमा आबद्ध खेलाडीहरूको जानकारी दिने फम्र्याट सहितको प्राविधिक सफ्टवेयर उपलब्ध गराइने छ । उनका अनुसार सफ्टवेयर मार्फत कसरी अद्यावधिक गर्ने बारेमा एन्फाले सातै प्रदेशका प्रशिक्षण मूलक कार्यशाला सुरु गरेको छ ।

कार्यशालामा कोशी प्रदेशका ११ जिल्ला फुटबल संघका अध्यक्ष र सचिव सहित सहभागी छन् । उनीहरूले कनेक्ट फिफाका बारेमा जिल्लाका पदाधिकारी, क्लबहरू र खेलाडीहरूलाई जानकारी गराउने तथा कार्यान्वयन गर्न भूमिका खेल्ने छन् ।