धरान : धरानलाई ग्रिन एन्ड क्लिन सहर बनाउन घरघरमा वृक्षारोपणका लागि बिरुवा बाँड्दै डेङगु महामारीबाट बच्न घरघरमै लामखुट्टेको लार्भा सर्च एन्ड डिस्ट्रोयको प्रचार अभियानलाई कांग्रेसले तीव्र बनाएको छ ।
कांग्रेस कार्यकर्ताहरू घरघर पुगेर घरबेटीको हातमा बिरुवा दिदैं उनीहरूलाई डेङगुबाट बच्न सानो तिनो भाँडोमा समेत खुल्ला पानी राखे लामखुट्टेले लार्भा पार्ने हुनाले खुला पानी नराख्न जनचेतना बढाउने काम गरिरहेको कांग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
धरानका २० वटै वडामा गरिने उक्त अभियान आइतबारसम्म धरान वडा १ र २ मा सकिएको छ । कांग्रेसले उक्त अभियान साउन ६ गते शनिवार ४१ औँ बिपी स्मृति दिवसको अवसर पारेर सुरु गरेको थियो ।
अभियानमा जुटेका कार्यकर्ताहरूले सडक सरसफाइ, डेङ्गुको लार्भा नष्ट गर्ने सचेतना पर्चा वितरण समेत सँगसँगै वितरण गर्दै आएको छ । कांग्रेसका पूर्व नगर सभापति किशोर राईले भने ‘ डेङगुका महामारीमा स्थानिय सरकार तमासे बनेर बसेकाले जनता आफै सजग हुनुपर्ने बेलामा कांग्रेसको यो अभियान सुरु गरेको हो ।
उनका अनुसार अभियानबाट जनतामा सकारात्मक सन्देश गएको छ । अभियानले कांग्रेसलाई जनताको घरघरमा पुर्याएको छ ।
अभियानको क्रममा वितरण गरिएका बिरुवाहरूमा घर कम्पाउन्ड, करेसाबारीमा रोप्न सकिने तेजपत्ता, अमला, टांकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, सिरिस, सिसौ, लप्सी, बकाइनो, पारिजात लगायत रहेको कार्यक्रम संयोजक मचिन्द्र राईले बताए । अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुनेछ ।
अभियानकै क्रममा भेट भएका पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको बताए । उनले अभियान मार्फत १/२ सय तेजपत्ताको बिरुवा उपलब्ध गराइदिन आग्रह गर्दै आफू अभियानमा जोडिने बताए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा कांग्रेसको कोसी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरूको सहभागी छन् ।


        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
                
                
        
        
















        
        
















































