धरान : निर्देशक रिमेश अधिकारीले फिल्म 'कोत पर्व' निर्माण गर्ने भएका छन् ।

चैतदेखि छायाङ्कन सुरु हुने फिल्ममा अभिनेता सौगात मल्ल र रमेश उप्रेती मुख्य भूमिकामा रहनेछन् । फिल्मको विषयवस्तु कोत पर्वमा आधारित हुने निर्देशक अधिकारीले जानकारी दिए ।

‘यो फिल्मको कथा ऐतिहासिक घटनामा आधारित हुनेछ’ उनले भने,‘फिल्मको पोस्ट प्रोडक्सनको काम भारतमा हुनेछ ।’

वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमान ढोका दरबारमा घटेको सनसनीपूर्ण घटनामा आधारित फिल्मको अहिले प्रि-प्रोडक्सन र पटकथा लेखनको कार्य भइरहेको छ ।

रिमेश अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा महेश दवाडीले तयार पारिरहेका छन् ।

कोत पर्व नेपालको इतिहासमा दोस्रो ठुलो नरसंहार हो । रानीका विश्वासपात्र गगन सिंहको हत्यारा खोज्न भेला भएका भारदारहरू बिचको विवाद हुँदा सुरु भएको यो काण्डले नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो ।

निर्देशकका अनुसार फिल्म ‘कोत पर्व’ नेपाली, भारतीय र चिनियाँ गरी तीन भाषामा रिलिज हुनेछ । फिल्मको बजेट ५ करोड राखिएको छ। निर्देशक अधिकारीले यसअघि फिल्म ‘नालापानी’, ‘बसमा छैन यो मन’, ‘विरासत’ लगायत निर्देशन गरेका थिए ।