धरान : कविता प्रस्तुतिको फरक प्रयोगवादी धारको रूपमा शुक्रवार धरानमा राजु स्याङतानको ओ पोङ्दोर्जे कविता कन्सर्टलाई श्रोता, दर्शकले रोचक माने । परम्परागत कविता गोष्ठीहरू पट्यार लाग्दो हुने टिप्पणी सुनिँदै आएकामा कविता सङ्गीतमय हुन्छ भन्ने कन्सर्टले श्रोता, दर्शकलाई बुझाएको पाइयो ।
कविता कन्सर्ट नेपाल तामाङ घेदुङ सुनसरीको आयोजना, बौद्धिक तामाङ समाजको संयोजनमा भएको हो । कन्सर्टमा राजु स्याङतानको कवितामा रिदम केलले गिटारिस्ट र भोकल, मनिस गन्धर्वले साइरङी र टुङगा, प्रकाश रसाइलीले बासुरी र किरण भुसालले ड्म्फु र कि ले साथ दिएको थियो ।
कथित स्याङतानले कन्सर्टमा परिवर्तनको सम्भावना राज्यको दमनप्रति बिद्रोहको भाव उजागर गर्ने प्रयास गरिएको बताए । उनले आम मानिसको असन्तोष प्रतिविम्बित १० वटा कविता वाचन गरेका थिए ।
टङक न्यौपानेले पछिल्लो समयमा राज्य र राजनैतिक शासकहरूले दबाएको साहित्य र सिर्जनालाई  खुल्ला रूपमा प्रकट हुन थालेको स्याङतानको कविता उदाहरण बनेको बताए । जातीय भाषा, संस्कृतिको  भावना उजागर गर्न स्याङतानका कविता प्रभावकारी रहेको उनको भनाई थियो ।
धरान-१० यलम्बर भवनमा भएको कविता कन्सर्टमा तामाङ घेदुङ प्रदेश अध्यक्ष रेस बहादुर घिसिङ प्रमुख आतिथि थिए । उनले तामाङ जातिको मौलिकता र ससकार संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न जरुरी भएको बताए ।
कवि सुदिप पाख्रीनले परिवर्तनको सम्भावना बोकेको भाव उजागर भएको भन्दै तराई देखि हिमाल सम्मका मानव जातिको भावना समिटिएको बताए । ईन्दु योञ्चनले कविताले आम मानिसको र विषयमा विभिन्न काल खण्डमा भएको उठ्दै आएको बताए । कुमार सिंह दोहले तामाङको मौलिक बाजा टुङगा बारे जानकारी दिए ।
तामाङ घेदुङ सुनसरीका उपाध्यक्ष हस्त बहादुर पाख्रीनको सभापतित्वमा भएको कन्सर्ट सुनिता तामाङ्ले सञ्चालन गरेकी थिइन् व्यवस्थापन किरण चाम्लिङको सयोजनमा भएको थियो ।