विराटनगर :  खोटाङको दिक्तेल नगरपालिका – २ घर भएकी ३६ वर्षीय धनकुमारी श्रेष्ठ टाउकोमा समस्या भएपछि उपचारको लागि मंगलबार दिउँसो विराटनगर आइन् । उनले यसअघि पनि विराटनगरस्थित न्युरो हस्पिटलका वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकासँग उपचार गरेकी थिइन् । डा. रोकासँग उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । उनी फलोअपको लागि सुनसरीको इटहरी २० तरहरा घर भएकी नातेदार विनीता श्रेष्ठसँगै आएकी थिइन् ।

डा. रोकालाई देखाएर स्वास्थ्य उपचार गर्ने योजना बनाएर विराटनगरको महेन्द्र चोकमा उत्रिन् । उनीहरू सिटी रिक्सा चढे र न्युरो हस्पिटल लगिदिनु भने । तर, कमिसन खान पल्किएका सिटीले न्युरो हस्पिटलदेखि करिब एक किलोमिटर उत्तरमा रहेको घोगापुल चौकमा रहेको शुभ स्वस्तिक पोल क्लिनिकमा पु¥याइदिए । ‘क्लिनिक पुग्ने बित्तिकै काउन्टरमा बसेका कर्मचारीलाई सोधेँ । यहाँ डाक्टर यामबहादुर रोका बस्नुहुन्छ ?’ ती कर्मचारीले पनि बस्नुहुन्छ भन्दै पुर्जा काट्न लगाए । ‘मैले एक हजार रुपैयाँ दिएँ । खुद्रा नभएपछि पछि पाँच सय फिर्ता दिने भन्नुभयो । त्यसपछि डा. रोकाको पखाई मा बस्यौँ । एक घण्टा पछि अर्कै डाक्टर साव आउनुहुन्छ ’, उनले भनिन् ‘मैले पहिला देखाएको उहाँ त होइन । म उहाँलाई देखाउँदिन भन्न थालेँ । त्यसपछि क्लिनिकका कर्मचारीले डाक्टर रोका अप्रेसनमा हुनहुन्छ । अहिले यही क्लिनिकमा भएको डाक्टरसँग चेकअप गर्नु भन्न थाले । पछि रिपोर्ट आएर डाक्टर रोकाले हेरिदिनुहुन्छ भन्न थाले ।’ 

उनका अनुसार त्यसपछि ५ हजार ३ सय रुपैयाँको विभिन्न परीक्षण समेत लेखिदिए । ‘ त्यो ल्याबको पनि पैसा दिएँ,’ उनले भनिन्, ‘क्लिनिकमा बसेको घण्टौँ भइसक्यो । तर, डाक्टर आउने कुनै छाँट देखिएन । त्यसपछि फेरि सोधेँ । कति खेर डाक्टर आउनुहुन्छ ? त्यसपछि कर्मचारीले भने, ‘आज डाक्टर रोकाले अप्रेसन गर्दै हुनहुन्छ । उहाँ आउन पाउनुभएन । उहाँको सट्टामा अर्को चिकित्सकलाई देखाउनु ।’ यसरी क्लिनिकका कर्मचारीले अर्कै चिकित्सकलाई देखाउनु भनेपछि पुर्जी काटेको र ल्याबको लागि लिएको लिएको पैसा लिएर न्युरो हस्पिटल खोजी गर्दै आइपुगेको उनले बताइन् । ‘न्युरो हस्पिटल आएपछि काउन्टरमा आएर डाक्टर रोका यहीँ बस्नुहुन्छ भनेर सोध्दा पो थाहा पायौँ । आज ठगिनबाट बचेँ ’ उनले भनिन् । 

यसरी अहिले विराटनगरमा नाम चलेको चर्चित चिकित्सकहरूको नाम बेच्दै बिरामीलाई ठगी गर्ने गरेको पाइएको छ । विशेष गरी च्याउसरी खुलेका हस्पिटल चोक र रङ्गेली रोडका निजी क्लिनिकहरू र केही नयाँ खुलेका हस्पिटलले पहाडदेखि उपचारको लागि आएका बिरामी ठगी गर्ने गरेका हुन् । बिरामी ठगीमा पर्ने गरेको जनगुनासो बढेपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले स्ट्रिीङ अप्रेसन गरेर गत पुसमा कमिसनको लोभमा बिरामीलाई अन्यत्र अस्पताल र क्लिनिकमा

पुर्‍याएर बिचौलियाको भूमिका खेल्ने दर्जन बढीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो ।

स्वास्थ्य क्षेत्रको दर्जन बढी बिचौलियालाई प्रहरीले पक्राउ गर्दै ठगीमा मुद्दा दायर गरी कारबाहीको दायरामा ल्याएपछि केही हदसम्म न्यूनीकरण भएको थियो । अहिले फेरी बिरामी ठगी गर्ने बिचौलियाहरू सलबलाएका छन् । पहाड र ग्रामीण क्षेत्रबाट आएका बिरामी बिचौलियाको फन्दामा पर्दा ठगीमा पर्ने गरेका छन् । उनीहरू बिरामी ठगी गर्न शनि मन्दिर चोक, रङ्गेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोक, महेन्द्र चोकमा बढी बस्ने गर्दछन् । यसबाहेक विराटनगरको हस्पिटल चोक, कोसी हस्पिटल अगाडि, गोल्डेन अस्पताल अगाडि, नोबेल अगाडि, विराट नर्सिङ होम र न्युरो चोकमा बस्ने गरेका छन् ।

निजी क्लिनिकहरूले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन्। तराईको विभिन्न क्षेत्र र पहाडी जिल्लाबाट आएका गरिब तथा सोझा बिरामी र आफन्तलाई शनि मन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि बिचौलियाले खोजिरहन्छन् । तर, उनीहरूको उद्देश्य बिरामीको राम्रो उपचार होस् भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरूलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको छ ।

विराटनगरभित्र रहेका ठुला अस्पताल बाहिरका केही फार्मेसी सञ्चालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटल चोकमा रहेको केही क्लिनिकहरूले धेरै बिचौलिया राखेको स्रोतको दाबी छ । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधी पसलमा ल्याउन

उनीहरूलाई जिम्मा दिन्छन् । प्रहरीले यसअघि नोबेल मेडिकल कलेज बाहिरबाट ७ जना, कोसी अस्पताल अगाडिबाट तीन जना, केही दिनअगाडि अगाडी न्युरो अस्पताल अगाडिबाट २ जना र विराट नर्सिङ होम अगाडिबाट पाँच गरी १७ जना बिचौलियालाई पक्राउ गरिसकेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका उनीहरू सबै फार्मेसीका कामदारहरू हुन् । एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पुर्‍याउँदा बिचौलियाले हजार रुपैयाँसम्म दिने गर्दछन् । जति बढी बिरामीले औषधि, ल्याबमा परीक्षण गरे , त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले बताए । ‘बिचौलियाले हस्पिटल चोक र रङ्गेली लाइनमा रहेका निजी क्लिनिकहरूसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने सर्त राखेका हुन्छन्,’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’ यस्तै, बिचौलियाले सम्पर्क गरेको निजी अस्पतालको भेन्टिलेटर र आइसियुमा बिरामी भर्ना भए अस्पतालले निश्चित रकम छुटाइदिने गरेको छ ।

बिरामी आइसियु र भेन्टिलेटरमा भर्ना भए बिचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्रोतले बतायो । ‘बिचौलियाले ल्याएको एक जना बिरामी निजी हस्पिटलको आइसियुमा र भेन्टिलेटरमा भर्ना भए । त्यो बिरामीको लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले बिचौलियालाई खुसी पार्न निश्चित रकम छुटाइदिएको हुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

यो समाचार आज हाम्रो मत दैनिकले पहिलो पृष्ठमा छापेको छ ।