धरान : उमेरले ८४ वर्ष नागेका धरान-२० विष्णुपादुकाका  ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।

पञ्चायतकलादेखि नै मतदान गर्दै आएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको गुनासो गरे । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि बिर्सने गरेको उनले तितो अनुभव सुनाए । ‘एउटा चुनावमा एउटा बाचा गर्छन् र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन्-राईले भने ।

पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उनले मत खसालेका थिए । सडक नजिक घर भएका राईले विगत २०५१ सालदेखि धुलो खादै बसेको स्मरण समेत गराए । उनले बिहीबार भोट माग्दै विष्णुपादुका पुगेकी नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार मञ्जु भण्डारी, उपमेयरका उम्मेदवार पदम लिम्बु र वडाध्यक्षका उम्मेदवार महाशेर राईलाई बिन्ती बिसाए ।यहाँका नागरिकले भोगेका समस्या समाधान गर्न उनले सुझाए । एमालेको ९ महिने शासनकालमा मनमोहन अधिकारीले शिलान्यास गरेको मङ्गलवारे-विष्णुपादुका सडक यतिका वर्षसम्म पनि कालोपत्रे हुन सकेको छैन । सडक किनारका व्यक्तिहरूले उठाउँदै आएका मुद्दा समाधान गर्न स्थानीयले माग गरे । 

चुनावप्रति नै वितृष्णा जागेको बेला बिहीबार नेकपा एमालेबाट मेयर र उपमेयर पदका उम्मेदवारको उपस्थितिमा  यहाँका समस्या समाधानमा प्रतिबद्धता जनाए पछि चुनावमा भाग लिन उत्साह पलाएको विष्णुपादुकाबासीले बताए ।त्यस्तै अर्का स्थानीय रवीन्द्र कार्कीको भनाई पनि अन्य स्थानीयको जस्तै रहेको छ । वडामा राम्रो सडक सञ्जाल र बेला बेलामा माथिल्लो भेगमा खानेपानीको समस्या रहेको उनले उम्मेदवारहरूलाई बताए । त्यसैगरी २० नं वडाध्यक्षका उम्मेदवार महाशेर राईले पनि वडामा खानेपानी र कालोपत्रे सडकको अभाव रहेकोले यसलाई सङ्घ प्रदेश र नगरपालिकासँग समन्वय गरेर जित पछि पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

‘यहाँको समस्या म आफै भोगी रहेको छु । यो वडा बत्तीमुनिको अँध्यारो भएको छ। मैले जिते पछि सडक सुधार, कृषि आधुनिकीकरण, अदुवा बेसारको बजारीकरणको व्यवस्थापन मेरो पहिलो प्राथमिकता हुने छ राईले भने  आफूले समेत त्यो समस्या भोगेको बताउँदै उनले आफू निर्वाचित भएर एमालेको नेतृत्वको टिमले भन्ज्याङ चौकसम्म कालोपत्रे सडक निमार्ण गर्ने प्रतिबद्धता म जनाउँछु।’  मेयरका उम्मेदवार मञ्जु भण्डारीले कोका खोलामा पक्की पुल, सडक पिच, कृषिमा आधुनिकीकरण, कृषकलाई मल विउविजनको व्यवस्था तथा धरान-२० लाई पर्यटकीय ग्राम बनाउन पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाए । यस्तै उपमेयरका उम्मेदवार पदम लिम्बुको एमालेको सिफारिसमा धरान उपमहानगरपालिकाले २० नं. वडालाई पर्यटकीय ग्राम घोषणा गरेको बताए ।

घोषणा गरे पनि उपमहानगरमा काँग्रेसको नेतृत्व र वडामा एमालेको नेतृत्व हुँदा पूर्वाधार विकासका लागि मेयरले कुनै बजेट नदिएकाले पूर्वाधार विकास हुन नसकेको उनले बताए । ‘वैशाख ३० पछि धरानका सबै वडामा एमालेको नेतृत्व आउने छ । २० नम्बरमा पनि एमालेको नेतृत्व हुने छ । हामी यहाँको पूर्वाधार विकासदेखि लिएर कृषकका समस्या समाधान गर्ने छौँ लिम्बूले भने । २० नं. वडा धार्मिक पर्यटकीय सम्भावना भएको वडा हो , यहाँ कृषि पर्यटनको पनि उतिकै सम्भावना छ । यी सबै पूर्वाधार विकास एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव भएको हालका वडाध्यक्ष मणिराम राईले बताए  । विष्णुपादुमा ५ हजार भन्दा बढी जनसङ्ख्या रहेको छ ।  ८ सय ५० घरधुरीको बसोबास छ भने मतदाता संखया ३ हजार ६४५ रहेको छ।